एक मात्रै प्रतिनिधी सभा सिट रहेको डोटीबाट एमाले अध्यक्ष मल्ल सर्वसम्मत सिफारिस
धनगढी २१ भाद्र । आगामी मंसिर ४ मा हुने प्रतिनिधी सभा प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारका लागि नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल सर्वसम्मत सिफारिस भएका छन् ।
सोमबार बेलुकी भएको एमाले जिल्ला कमिटी डोटीको बैठकले एक मात्रै प्रतिनिधी सभा सिट रहेको डोटीबाट अध्यक्ष मल्ललाई सर्वसम्मत उम्मेदवारका लागी सिफारिस गरेको हो ।
त्यस्तैे प्रतिनिधी समानुपातिकतर्फ एमाले पोलिट ब्युरो सदस्य एवं डोटी इञ्चार्ज गौरी ओलीलाई सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
प्रदेश सभा सदस्यका लागि क्षेत्र नम्बर ‘क’ मा प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लक्ष्मण खड्कालाई पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
प्रदेश सभा क्षेत्र नम्बर ‘ख’ मा प्रत्यक्षतर्फका लागि उम्मेदवारी सर्वसम्मत सिफारिस भएको छैन । क्षेत्र नम्बर ‘ख’ मा प्रत्यक्षतर्फका लागि ६ जनाआकाङ्क्षी देखिएकाले सबै नामहरु उपल्लो कमिटीमा सिफारिस गरी पठाउने निर्णय भएको छ ।
आकाङ्क्षी उम्मेदवारहरुमा पदमराज भट्ट, राम बहादुर ऐर, टेक बहादुर बम, भोजनाथ योगी, यज्ञराज जोशी र राधिका टमटा रहेका छन् ।
प्रदेश सभा सदस्य ‘क’ र ‘ख’ का लागि समानुपातिकतर्फबाट ३६ जना आकांक्षी उम्मेदवार रहेकाले सबै नामहरु सिफारिस गरी पठाइने एमाले डोटीका सचिव शेर बहादुर मल्लले जानकारी दिए ।