बाजुरामा उत्पादित स्याउ बजारमा आउने

धनगढी २८ साउन । बाजुरामा उत्पादन गरेको स्याउ अब बजारमा आउने भएको छ । बाजुराका किसानले उत्पादन गरेको स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज बजारमा भदौ दोस्रो साता आउने भएको हो।

सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरामा दुई हजार ५ सय हेक्टरमा स्याउ खेती हुने भए पनि एक तिहाइभन्दा कम क्षेत्रमा मात्र स्याउ खेती गरिएको छ । ५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीबाट यो वर्ष २ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। स्थानीय स्याउ खेतीप्रति बढी रुचि बरुचाउन तालेका छन् । बाजुरा जिल्लाको ५ स्थानीय तहमा स्याउ खेतीको लागि उपयुक्त हावापानी भएको पाईन्छ ।

जिल्लाको बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक गाउँपालिका, जगन्नाथ गाउँपालिका र हिमाली गाउँपालिका स्याउ खेतीका लागि उपयुक्त ठाउँ हुन्। सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरूका अनुसार बाजुरामा स्याउ खेतीका लागि २५ सय हेक्टर क्षेत्रफल उपयुक्त रहेको छ । तर, अहिलेसम्म ५ सय हेक्टर क्षेत्रमा मात्रै स्याउ खेती गर्न सकिएको छ ।

उनका अनुसार ‘बाजुरामा गत वर्ष रोग तथा किराको प्रकोपका कारण स्याउ उत्पादन कम आएको थियो,। ‘यो वर्ष भने किसानको बारीमा स्याउ लटरम्म फलेको छ। भदौ दोस्रो सातापछि बाजुराको स्याउ बजारमा आउने छ।’ दुर्गम तथा सडक संजालसँग नजोडिएको क्षेत्रमा खेती गरिएकोले उत्पादित स्याउ बजारसम्म ल्याउन ढुवानीमा समस्या छ।

तर, विगतमा झै यो वर्ष पनि प्रदेश सरकारले कृषि ज्ञान केन्द्रमार्फत ढुवानीमा किसानलाई अनुदान दिने भएको छ। गत वर्ष ढुवानीमा प्रति किलो १५ रुपैयाँ अनुदान दिएको भए पनि यो वर्ष भने ढुवानीका लागि सूचना प्रकाशन भएको छैन। सूचना प्रकशनपछि मात्र दर रेट र ढुवानीमा अनुदानबारे जानकारी हुने छ।

प्रदेश सरकारले ढुवानीमा अनुदान दिएकाले किसानमा स्याउ खेतीप्रति आकर्षण बढेको कृषि ज्ञान केन्द्र प्रमुख पनेरुले बताए।
बाजुरामा रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रेड डेलिसियस, फुजी र गाला प्रजातिको स्याउ खेती गरिएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.