नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा :सभामुख
काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताउनुभएको छ । उहाँले अमेरिकी सहयोग एमसीसी सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताउनुभएको हो ।
प्रतिनिधि सभाको आज आइतवार बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले एमसीसी सम्झौता कार्यसूचीमा समावेश गरेको विषयमा फरक धारणा राखेपछि उहाँले राष्ट्रिय महत्त्वका विषयवस्तुलाई वृहत् छलफल गरिनु उपयुक्त हुन्छ भनी समावेश गरिएको बताउनुभयो ।
विगत लामो समयदेखिको अवरोधका कारण संसद् सुरु हुन सकिरहेको छैन, यसबाट सरकार सञ्चालनका सम्पूर्ण पक्ष र आयाममा प्रभाव परिरहेको छ, सभामुख सापकोटाले भन्नुभयो । राष्ट्रिय महत्त्वका विषयवस्तुलाई समेत छलफलमा ल्याइ निष्कर्षमा पुग्नुपर्ने अवस्थामा यो अवरोधले थप प्रतिकूलता सिर्जना गर्ने भन्दै उहाँले सदनमा छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगका लागि अपिल गर्नुभयो ।
दलका शीर्ष नेता, सांसद, संविधानविद्, कानुनविद्, सञ्चारमाध्यम, बुद्धिजीवी एवम् लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वको भावनाको समेत सम्मान गर्दै एमसीसी सम्झौता छलफलका लागि सदनमा पेस गरिएको उहाँले बताउनुभयो ।