अत्तरिया बसपार्कमा नेपाली सेना द्धारा सार्वजनिक रुपमै आफ्नो दाबी प्रस्तुत
धनगढी:कैलालीको अत्तरिया बसपार्कमा नेपाली सेनाले सार्वजनिक रुपमै आफ्नो दाबी प्रस्तुत गरेको छ । बसपार्क सेनाको नाममा रहेको चर्चा हुने गरेको भएपनि यसअघि सेनाले सार्वजनिक रुपमा त्यसमा आफ्नो दाबी प्रस्तुत गरेको थिएन् । हाल भने तेघरी स्थित नेपाली सेनाको देवीदल गणले बसपार्कमा ‘नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमिन’ लेखिएको बोर्ड टासेर आफ्नो दाबी पेस गरेको हो ।
यसअघि नेपाली सेनाले अत्तरियाको पुर्व रोडमा गत बर्ष आफ्नो दाबी सहितको बोर्ड लगाएको भएपनि बसपार्कमा भने पहिलो पटक आफ्नो दाबी सार्वजनिक रुपमा प्रस्तुत गरेको छ । अत्तरिया बजार क्षेत्रमा पर्ने बसपार्क लगायत अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाको नाममा भएपनि भोगाधिकार भने गोदावरी नगरपालिका, बिभिन्न संघसस्था र स्थानीयले गरिरहेका छन ।
राजा ज्ञानेन्द्रको शासनकालमा सेनाको नाममा नामसारी गरिएको भनिएको उक्त जग्गा हाल भोगचलनमा रहेकै नाममा गर्नुपर्ने बहस चलिरहेको बेला सेनाले आफ्नो सार्वजनिक रुपमै दावी गर्नुलाई भने चासोका रुपमा हेरिएको छ । अहिले गोदावरी नगरपालिका मातहतमा रहेको अत्तरिया बसपार्कबाट नगरपालिकाले बार्षीक ठेक्का प्रक्रिया मार्फत सेवा शुल्क उठाउँदै आएको छ ।
नगरपालिकाले बसपार्क संचालन गरिरहेकै अवस्थामा सेनाले बोर्ड राखेपछि लाखौं लगानी गरिएको बसपार्कको भबिष्यका बारेमा अन्योल सृजना भएको छ ।