कञ्चनपुरको पुनर्वासमा चट्याङ: एक जनाको मृत्यु
धनगढी । कञ्चनपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका, ६ प्रतिभानगरका ३६ वर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।
बिहान परेको चट्याङमा परेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । अहिले सुदूरपश्चिमका धेरै स्थानमा पानी परीरहेको छ ।
आज सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। सुदूरपश्चिमका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले मंगलबार जारी गरेको बुलेटिनमा उल्लेख छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू–क्षय, पहिरो,चट्याङ तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।