खेलाडीलाई स–सम्मान फर्काउँछौं :नवनिर्वाचित अध्यक्ष नेम्वाङ

काठमाडौँ — अखिल नेपाल फुटबल संघ ९एन्फा० को अध्यक्षमा निर्वाचित भएलगत्तै पंकजविक्रम नेम्वाङले पहिलो बैठकबाटै विवादास्पद प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबारे निर्णय गर्ने बताएका थिए । त्यसैअनुसार बुधबारको बैठकले राष्ट्रिय टिमका प्रशिक्षक र खेलाडीबीच भएको विवादलाई लिएर प्रतिवेदनको सुझावअनुसार अगाडि बढ्ने निर्णय गरेको छ ।

‘हामीले खेलाडीहरूलाई स–सम्मान आउने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेका छौं,’ अध्यक्ष नेम्वाङले भने, ‘प्रशिक्षकको विषयमा प्रतिवेदनले जे सिफारिस गर्‍यो त्यसको कार्यान्वयनका निम्ति सचिवालयलाई जिम्मा दिएका छौं । प्रशिक्षकबारे प्रतिवेदनको सुझावअनुसार प्रशिक्षक र कतार एफएसँग सम्पर्क गरेर अगाडि बढ्छ ।’ छानबिन समितिको प्रतिवेदनले एसियन कप २०२३ छनोटपछि अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको थियो ।

कतार फुटबल संघको अनुदानमा आएका अल्मुताइरीले एसियन कप छनोटको तयारीमा खेलाडीलाई होटल कि होस्टेल बस्ने भनेर सोधेपछि होटल बस्ने भनेर हात उठाएका रोहित चन्दलाई तत्कालै टिमबाट हटाएका थिए । रोहितले सबै खेलाडीको आवाज बोलेकाले उनलाई अन्याय भएको कुरा उठाएका ९ खेलाडीले पनि अल्मुताइरीले ‘बारम्बार घर जा’ भनेपछि होटलमा राखेर सञ्चालन गरिएको बन्द प्रशिक्षण छाडेका थिए । लगत्तै अल्मुताइरीले उनीहरूलाई टिममा नबोलाउने पत्र एन्फालाई पठाउँदै नयाँ र युवा खेलाडीहरूलाई टिममा बोलाएका थिए । उनले खेलाडीहरू अन्यायमा परेको बताएका नियमित कप्तान किरण चेम्जोङलाई पनि टिममा बोलाएनन् । उनी युवा टिम लिएरै छनोट खेल्न कुवेत सिटी पुगेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.