उपमहानगरले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम
धनगढी ७ असार । कैलालीको धनगढी उपमहानगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिले पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।
नगरप्रमुख गोपाल हमालले मंगलबार पेश गरेको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु ल्यइएका छन् त केही कार्यक्रमलाई निरन्तरता दिइएको छ। नगर प्रमुख हमालले पहिलो पञ्च वर्षीय आवधिक योजना २०७९/0८० देखि २०८३/०८४ तर्जुमा गर्दै कार्यन्यवन गर्ने र ‘हाम्रो धनगढी हामी बनाउँछौ’ महाअभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेका छन्।
हमालले नगर सभामा पेश गरेको नीति तथा कार्यक्रममा उपमहानगरपालिका भित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण हटाउने अभियानलाई प्राथामिकता दिइएको छ। नीति तथा कार्यक्रममा उपमहानगरपालिकाको सडक बिस्तार लगायतका उपमहानगरपालिकाभित्र रहेका खोलानाला एवं तालतलैयाहरुको प्राकृतिक बाहवलाई यथावत कायम गर्न अतिक्रमण गरी बनाइएका घरटहरा लगायतका संरचनाहरु हटाएर त्यस्तो ठाउँको दायाँवायाँ पदमार्ग ९करिडोर० निर्माण गर्दै लगिने उल्लेख गरिएको छ।
यस्तै योजना बैँकमार्फत योजना तर्जुमा प्रक्रिया अगाडी बढ्ने उल्लेख गरिएको छ। उपमहानगरपालिकाले विभिन्न क्षेत्रको सहभागितामा नगर विज्ञ समूह गठनको नीति लिएको छ। उपमहानगरपालिकाले नगर विद्युतीय गुरुयोजना निमार्ण गरी लागू गर्ने भनेको छ। उपमहानगरपालिकाले स्वच्छ, स्वास्थ र हरित नगरका रुपमा विकसित गर्दै आर्थिक वर्ष २०७९/०८० लाई सरसफाई वर्षका रुपमा मनाउने नीति लिएको छ।