कञ्चनपुरका उखु किसानलाई काटेको उखु तौल्न समस्या , मिलमा लामो लाईनमा बस्नुपर्दा सडकमै वास
कञ्चनपुर, ८ फागुन । कञ्चनपुरका उखु किसानलाई काटेको उखु तौल्न निकै समस्या भएको छ । उखु काटेर ढुवानी गरेर मिलमा लामो लाईनमा बस्नुपर्दा निकै समस्या भएको उनीहरुले गुनासो गरेका हुन् । कञ्चनपुरका किसानहरु मिलमा उखु तौल्नका लागी लामबद्ध लाईमा बस्नु परेको छ ।
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा दुई वटा मात्रै चिनी मिल भएकाले उखु तौल र राख्न समस्या भएको किसानहरुले बताएका छन् ।
मिल आसपास उखु बोकेका ट्रयाक्टरदेखि गोरुगाडा र राँगा गाडाको लामो लाइनमा किसानहरु बसेर ओडने ओछ्याउनेदेखि खाट बोकेर राखेका छन् । एक ट्रली उखु तौलिन चार दिन सडकमा रात बिताएको कञ्चनपुरको बेलडाडी गाउँपालिका–५ झिलमिलाका दीपेन्द्र रानाले बताए ।मंसिरदेखि उखु काटेर चिनी मिल सम्म पु¥याउन थालेका उनलेअहिलेसम्म १० ट्रली मात्रै ढुवानी गरेका छन् । उनले उखु काट्ने र ढुवानी गरेर ल्याउनुभन्दा मिलमा लाइन कुर्न निकै समस्या हुने गरेको बताए ।
चिसोमा रातभरि ट्रलीमै सुत्नुपर्ने र उखु तौल्ने पालो पाउनै गाह्रो हुने भएकाले उखु खेती गर्नुभन्दा बढी दुख तौलिने काममा भएको उनको भनाई छ । मंसिरदेखि चैत अन्तिमसम्मै किसानहरू उखु काट्ने, ढुवानी गर्ने र मिलमा तौलिने काममा व्यस्त हुने गरेका छन् । भने अहिले नै किसानहरू उखु लगाउने काममा पनि जुट्ने गरेको भएकाले किसानलाई अहिले भ्याईनभ्याई भैरहेको बेलडाडी गाउँपालिका ३ वैवाहका लक्ष्मण चौधरीले बताए ।
उखु तौलनकालागी पहिला पुर्जी काट्न समस्या र पुर्जी पाइएपछि उखु मिलसम्म ढुवानी र त्यसपछि मात्रै तौलिने समय पाउनै मुस्किल हुनेगरेको बताए । उनले आफुले तीन विघामा उखु खेती गरेको बताउँदै हालसम्म डेढ बिघाको उखु बिक्री भइसकेकोले आधा बाँकी नै रहेको बताए । फागुन अन्तिमसम्म सबै बिक्री गरिसक्ने उनको भनाई छ । कतीपय स्थानियले चिनी मिलमा सीमावर्ती क्षेत्रबाट समेत अवैध रूपमा उखु आयात हुने भएकाले तौलिन बढी समय लाग्ने गरेको बताएका छन् ।
रातिको समयमा भारतबाट अवैध रूपमा उखु आउने गरेको उनीहरुले बताएका छन् । रातीको समयमा भारतबाटै धेरै उखु आउनेबित्तिकै तौल्ने तर स्थानिय स्तरको उखु तौल्न तीन चार दिन कुर्नुपर्ने बताएका छन् ।बेलौरी नगरपालिका १० भुडामा महाकाली सुगर मिल र पुनर्वास नगरपालिकामा भागेश्वर सुगर मिलले एक सिजनमा २५÷२५ लाख क्विन्टल उखु पेल्दै आएका छन । मिल सञ्चालकहरू आवश्यकताअनुसार उखु नपाइने बताउँदै आएका छन् । तर उनीहरू भारतबाट आयात नगरिएको बताउँछन ।
महाकाली सुगर मिलका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले भारतबाट उन्नत जातको बीउ मात्रै ल्याउँने र मिलमा पेल्नका लागि उखु नआउने गरेको बताए । यस्तै उखु नपुगेर मंसिरदेखि मिल सञ्चालनमा आएर फागुनमा बन्द हुने गरेको बताए ।यस वर्ष उखुको मुल्य ७० रुपैयाँ ढुवानी अनुदानसहित ६ सय १० रुपैयाँ प्रतिक्विटल पुगेको छ । उनले पुर्जी वितरण गरिएको भन्दा बढी एकै दिन पाँच, सात सय गाडी उखु आउँदा तौलिन समस्या हुन थालेको बताए ।
उनले एक दिन मात्रै २५० गाडी उखु पेलीने गरेको बताए । नेपालसँगै सीमा जोडिएको भारतीय क्षेत्रमा पनि उखु खेती गरिन्छ । तर भारतमा जग्गाधनी पुर्जा भएको उखु मात्रै खरिद हुने भएकाले जग्गाधनी पुर्जा नभएका कृषकहरूले अवैध रुपमा नेपालतर्फ ल्याउने गरेको स्थानीयहरुले बताएका छन् । सुगर मिलहरूले पनि अनुदान रकम पाउनका लागी ठूलो मात्रामा भारतबाट उखु मगाउने उनीहरुले आरोप लगाएका छन् ।
कृषि ज्ञान केन्द्रका अनुसार कञ्चनपुरमा साढे ६ हजार हेक्टरमा उखु खेती गरिदै आएको छ । यहाँ उखुको उत्पादकत्व प्रतिहेक्टर ८० मेट्रिक टन छ । भारतबाट अवैध रुपमा उखु आयात हुने गरेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राइले बताएका छन् । उनले भारतबाट उखु आउने कुरा जानकारीमा आएको समेत बताए ।