भारतद्धारा नेपाललाई दुई सय मिर्गौला डायलाइसिस मेशिन हस्तानत्रण
काठमाण्डौ,८ फागुन । भारतले नेपाल सरकारलाई मिर्गौला डायलाइसिस मेसिन सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेको हो ।
करिव एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेशिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।
उनले मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदैआएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने बताए ।‘दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ७६ वर्ष पूरा भएको छ ।
उनले भने, यसबीचमा दुई मुलुकबीच सरकार–सरकार बीचमा मात्रै नभई जनताको स्तरमा पनि सुमधुर सम्बन्ध रहँदैआएको छ ।”उनले २०७२ मा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोगको नेपाल राष्ट्र र नेपाली जनताले स्मरण गरिरहने बताए ।
भूकम्प र कोभिडको समयमा पनि भारत सरकारबाट भएको सहयोग महत्वपूर्ण र सराहनीय रहेको उनको भनाई छ । “यो सहयोगका लागि म भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु ।कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु ।”
नेपालका लागि भारतीय राजदुत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउनेगरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए ।
नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने उनले प्रतिवद्धता गरे । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई छ ।
राजदुत श्रीवास्तवले भने, ‘करिव एक वर्षअघि नेपाल सरकारको तर्फबाट दुई सय मिर्गौला डायलाइसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध आएको थियो । सोहीअनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।” नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्ने उनले बताए ।