चोरी तथा डाँका सम्बन्धी कसूरमा बैतडीका एकसहित अरु ३ जनालाई प्रहरीले पक्राउ
बैतडी, ४ फागुन । चोरी तथा डाँका सम्बन्धी कसूरमा बैतडीका एकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ल्यापटप, मोवाइल र नगद चोरी गरेको अभियोगमा बैतडी दोगडाकेदार गाउँपालिका–२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा पक्राउ परेका हुन् ।
यस्तै, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका सञ्चालक तेह्रथुम अठराई गाउँपालिका–२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका सञ्चालक कपिलवस्तु बाणगंगा नगरपालिका–१ घर भएका ३४ वर्षीय विनोद पौडेललाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । यस्तै, लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप विनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
तीनै जना उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।