नवनियुक्त मुख्यमन्त्री शाह रेशमको घर पुगे, टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने

धनगढी, २८ माघ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले रेशम चौधरीका स–परिवारसँग भेट गरेका छन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले पदभार ग्रहणको दोस्रो दिन कैलाली जानकि गाउपालिका ६ जगतपुरमा पुगेर उन्मुक्ति पार्टिका संरक्षक रेशमका घरपरिवारसंग भेटघाट गरेका हुन् । आज बिहान उनले रेशमको निवासमै पुगेर रेशमकी आमा र परिवारका अन्य सदस्यसँग घरमा पुगेर भेट गरेका हुन् ।

भेटमा मुुख्यमन्त्री शाहले रेशमलाई जेलमुक्त गराउन आफूले सक्दो पहल गर्ने आश्वासन दिएका छन् । उनले ‘टीकापुर घटनालाई राजनीतिक रूपमा हेर्नुपर्छ र त्यही हिसाबले समाधान हुनुपर्छ, छिटोभन्दा छिटो रेशमको रिहाइ र टीकापुर घटनाका बन्दीहरूलाई छुटाउने अभियानमा म आजैदेखि लागिसके’, उनले भने । शाहले मुख्यमन्त्री भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । जसका लागि २७ सांसदको समर्थन चाहिन्छ ।

सुदूरपश्चिम प्रदेश सभामा नाउपा निर्णायक रहेको छ । यसअघि नेकपा एमाले नेतृत्वको सरकारलाई नाउपाले विश्वासको मत नदिएपछि एक महिनामै ढलेको थियो । मुख्यमन्त्री शाहले हिजो शुक्रवारनै दुई सदस्यीय मन्त्रिपरिषद पनि विस्तार गरेका छन् ।

उनले कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट नरेश शाही आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् । मन्त्रीमा नियुक्त भएकाहरुले पनि आजनै पद तथा गोपनियताको शपथ लिएका छन् ।

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका उपसभामुखबाहेक ९, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा र स्वतन्त्रबाट १,१ जना सांसद रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.