डडेल्धुरामा अनुगमन नहुँदा सङ्कलित खोटो निर्यातमा रोकीयो
डडेल्धुरा,१२ माघ । डडेल्धुरामा वन अनुगमन नहुँदा सङ्कलित खोटो निर्यात हुन सकेको छैन । डिभिजन वन कार्यालय डडेल्धुराका कर्मचारीले अनुगमन नगर्दा सङ्कलित खोटो निर्यात हुन नसकेको हो । डडेल्धुराका सामुदायिक वन र राष्ट्रिय वनका सल्लाबाट खोटो सङ्कलन हुँदै आएको छ ।
खोटो निकालेको सल्लाका रुख वनका कर्मचारीले अनुगमन गरेपछि घाटगद्दी गरेर रोयल्टी सङ्कलन गरी निर्यात गर्ने कानुनी प्रावधान छ । खोटो सङ्कलन गरेको कम्पनीले रिल काटेको, एसिडको प्रयोग गरेको मात्रा र घाउमा पोत्नु पर्ने हुन्छ । तोकिएको प्रावधानअनुसार कम्पनीले काम गरेको छ वा छैन अनुगमन वनका कर्मचारीले गर्नुपर्ने हुन्छ ।
डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत एवं सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार कर्मचारी अभाव हुँदा वनको अनुगमन गर्न नसकिएको हो । डडेल्धुराका वनमा दिव्या रोजिन टर्पेन्टाइन कम्पनीले खोटो सङ्कलन गर्ने गरेको छ । सरकार मातहतको नेपाल टर्पेनटाइन कम्पनी हटाई हाल निजी कम्पनी दिव्या रोजिनले एकलौटी ढङ्गले यहाँका वनबाट खोटो सङ्कलन गरेर लैजाने गरेको छ ।
गत वर्ष २०७८ मा डडेल्धुराबाट छ लाख ११ हजार किलोग्राम बढी खोटो निर्यात भएको थियो । सो निकासीबाट वनले ७३ लाख बढी रुपियाँ आम्दानी गरेका थिए । प्रतिकिलोग्राम १२ रुपियाँका दरले खोटो सङ्कलन कम्पनीले सामुदायिक वनको खातामा राजस्व जम्मा गर्नुपर्छ । राष्ट्रिय वनको हकमा वन कार्यालयमा राजस्व सङ्कलन हुने बताइन्छ ।
दिव्य रोजिन टार्पेटाइन कम्पनीका डडेल्धुरा इन्चार्ज तिलाराम ढुङ्गानाका अनुसार गत वर्षभन्दा यस वर्ष खोटो कम मात्रामा सङ्कलन गरिएको छ ।