प्रारम्भिक कक्षमै शिक्षण सिकाई अवस्था कमजोर
धनगढी, १० माघ । सुदूरपश्चिम प्रदेशको प्रारम्भिक कक्षमा अध्ययनरत बालबालिकाको शिक्षण सिकाई अवस्था कमजोर रहेको पाईएको छ ।
शैक्षिक गुणस्तर परिक्षण केन्द्रले तयार पारेको प्रारम्भिक बालबिकास केन्द्रका बालबालिकाहरूको सिकाई तथा विकासस्तर २०७८ अनुसार प्रदेशका ३६ देखि ५९ महिनासम्मका बालबालिकाको सिकाई स्तर राष्ट्रियस्तरको दाँजोमा कम रहेको देखाएको हो ।
सो प्रतिवेदन अनुसार राष्ट्रियस्तरमा बालविकासको उपलब्धि ८०% रहेकोमा सुदूरपश्चिमको दोगडाकेदार गाउँपालिकमा गरिएको अध्ययनमा उपलब्धि ७८ प्रतिशत रहेको छ ।
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको दोगडाकेदार गाउपालिकाका २४ देखि २९ महिना उमेर समूहका २५२ बालबालिकालाई समावेश गरिएको थियो ।
प्रारम्भिक बाल विकास २०३०अन्तर्गतका विभिन्न २० प्रश्नहरू बालबालिकाको आमासँग सोधी उनीहरूको बालविकासको अवस्थालाई अध्ययन गरिएको थियो ।
‘उमेर समूहको आधारमा हेर्दा २४ देखि २९ महिनासम्मका बालबालिकाको बालविकास ७० प्रतिशत र त्यसपछिका उमेर समूहका बालबालिकाको बालविकास स्तर क्रमशः बढ्दै गएको पाइएको छ तर ४८ देखि ५९ महिनासम्मका उमेर समूहका बालविकास भने एक्कासी घटेर ७२ प्रतिशत रहेको छ’ सो प्रतिवेदनमा भनिएको छ ।
सो अध्ययन प्रतिवेदन अनुसार शिक्षित बाबुको बालविकासको सही स्तर ७८% देखिदा अशिक्षित बाबुको उक्त स्तर केवल ५० प्रतिशत मात्र रहेको छ ।
प्रदेशमा जातिका आधारमा दलित र मधेश समुदायका बालबालिकाको सिकाई स्तर कमजोर रहेको छ ।
प्रतिवेदनमा भनिएको छ – ‘जातिका आधारमा बालविकास स्तर विशेषण गर्दा जनजाति वालविकासको विकास स्तर १००% ब्राह्मणको ८२ क्षेत्रीको ७९%, दलितको ७३ प्रतिशत देखिन्छ भने सबैभन्दा कम मधेसी बालबालिकाको वालविकास स्तर ६७ प्रतिशत मात्र सही स्तरमा देखिन्छ ।’
अध्ययन अनुसार सरल भन्न र लेख्न सक्ने अवस्था कमजोर रहेको उल्लेख छ । ‘समावेश गरिएका प्रश्नगत नतिजाहरूमा १००% बालबालिका बारम्बार बेखुसी रहने गरेको, ७९ प्रतिशतले १० भन्दा बढी सरल शब्दहरू भन्न सकेको देखिन्छ भने आफ्नो नाम लेख्न सक्ने बालबालिकाहरू केवल १५ प्रतिशत मात्र रहेका छन्।’ सो अध्ययनले प्रारम्भिक बालशिक्षा तथा विकासका नीति, थप लगानीका क्षेत्र, पाठ्यक्रम, सिकाइ सहजीकरण र शिक्षक प्रशिक्षणका अवस्थाको सूचित गर्ने गर्दछ बालविकास केन्द्रहरूको गुणस्तर अभिवृद्धिका लागि केन्द्र व्यवस्थापन तालिम, अभिमुखीकरण, जनचेतना, बहस पैरवी, जनशक्ति विकास, शैक्षिक खेल सामग्री प्रदान, अनुगमन मूल्याङ्कन जस्ता पक्षहरूको यथार्थता सूचित हरेक वर्ष गर्दै आईरहेको छ ।
बाल कक्षामा प्रयाप्त शिक्षक नहुनु, शिक्षकहरूको क्षमता अभिवृद्धि नहुनु, क्षमता तालिम लिईसकेका शिक्षकको पुर्नताजगि तालिम नहुनु लगायतले बालबालिकाको सिकाईस्तरमा सुधार नहुनु प्रमुख कारण रहेको शिक्षाविदहरू बताउँछन् । सामुदायिक विद्यालयका बाल कक्षाहरुलाई मन्टेश्वरी माध्यामबाट पढाउने वातावरण सृर्जना गरि बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुर्न ताजगी तालिमको व्यवस्थापन नभएसम्म बालबालिकाको सिकाई स्तर सुधार नहुने शारदा माध्यामिक विद्यालयका प्राध्यापक तेज सिंहले बताए ।
प्रतिवेदनले दिएका सुझावहरू
१. पालिकाको स्तर राष्ट्रिय स्तरभन्दा तल रहेकाले सही स्तरमा ल्याउनका लागि भएका कमजोरीहरू केलाउने
२. पालिकाले बालबालिकाको बालविकास सही स्तरमा वृद्धि गर्न आवश्यक योजना निर्माण र कार्यान्वयन गर्ने ।
३. बढ्दो उमेरसँगै बालविकासको सही स्तरपनि बढ्नुपर्नेमा ४८ देखि ५९ महिना उमेर समूहको स्तर खस्कनुको कारण पहिचान गरी समाधानको खोजी गर्ने ।
४. बालिकाको बालविकास स्तर बालकको दाँजोमा कम भएकाले लैगिक विभेदको प्रभाव अन्त्य गर्न पहल गरी समान स्तरका लागि जोड दिने र शिक्षित आमाबाबुका बच्चाहरूको बालविकास स्तर राम्रो देखिएकाले आमाबाबुलाई शिक्षित बनाउन कार्यक्रमहरू ल्याउने ।
५. मधेसी र दलित समुदायका बालबालिकाहरूको बालविकास उपलब्धि कमजोर भएकाले ति समुदायको विकासतर्फ ध्यान दिने।
६. समावेश गरिएको २० वटा प्रश्नहरूमा आफ्नो नाम लेख्न सक्ने विद्यार्थीको केवल १५ प्रतिशत रहेकाले सिकाइमा ध्यान दिनुपर्ने ।
७. समावेश गरिएका प्रश्नहरूमध्ये ३ प्रश्नहरूमा उपलब्धि स्तर ज्यादै कमजोर देखिएकाले सुधार गर्न आवश्यक पहल गर्नुपर्ने ।