कञ्चनपुरको शुक्लाफाँटामा अव्यवस्थित मासुजन्य पसल हटाउन निर्देशन
कञ्चनपुर ,६ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अव्यवस्थित मासुजन्य पसल हटाउन निर्देशन जारी गरेको छ । नगरपालिकाभित्र अव्यवस्थित रूपमा सञ्चालित माछा–मासु पसलहरूले गर्दा वातावरण प्रदुषित भई पसलवरिपरिको सौन्दर्य तथा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने ठहर गर्दै नगरले ती पसल हटाउन भनेको हो ।
नगरमा माछा–मासु पसल सञ्चालनसम्बन्धी न्यूनतम मापदण्ड पालना नगरेर सडक किनारमा अस्थायी टहरा, खाट, टेबुल राखी माछा मासु बिक्री गर्ने पसलहरू सञ्चालन भइराखेको पशु विकास सेवाका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।
नगरभित्र कलुवापुर, झलारी र वनसमिती स्थानीय बजार हुन् । झलारीमा ११, कलुवापुर र वनसमितीमा ४–४ गरी जम्मा १९ वटा पसलहरू सञ्चालनमा छन् । तीमध्ये ४ वटा पसल मात्र दर्ता भएका भट्ट बताउँछन् ।
बजार क्षेत्रमा नै विनादर्ता खुल्लमखुल्ला पसल सञ्चालन भइरहेका छन् भने मुख्य बजारबाहेक गाउँतिर पनि तमाम पसलहरू दर्ताविना सञ्चालन भइरहेका नगरपालिकाले जनाएको छ । दर्ताका लागि पटकपटक सूचना जारी गर्दा पनि पसलेहरूले नटेरेको भट्टले जानकारी दिए ।