सुदूरपश्चिमका भुकम्प प्रभावित लाई आइएफआरसीको सहयोग
धनगढी, ५ माघ । सुदूरपश्चिमका भुकम्प प्रभावित घरपरिवारका लागि आइएफआरसी साहारा बनेको छ । सरकारलेनै पुननिर्माणको निर्णय गर्न नसक्दा सो संस्था पीडितका लागि सहयोगी हात बनीरहेको हो ।
आइएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रसले डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिरहेको छ ।
गत कार्तिक २३ गते गैरगाउँ केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका छ जनाको मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए। अहिले ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा क्षतिको विस्तृत आँकलन जारी रहेको बताएको छ ।
भूकम्प अतिप्रभावित तीन सय लाभग्राहीलाई नगद सहयोग थालिएको हो। सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट वितरणलाई तीव्रता दिएको छ ।
सोसाइटीका अनुसार स्थानीय पालिका र जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा लाभग्राही छनोट भएको जनाएको छ । भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ७३ हजार छ सय, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १० हजार गरी रु ९८ हजार छ सय प्रदान गर्न थालिएको नेपाल रेक्रसले जनाएको छ ।
भूकम्पबाट सबैभन्दा बढी पिडित डोटीका दुई सय, अछामका ५० र बझाङका ५० परिवारलाई उनीहरूकै व्यक्तिगत खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको छ । नेपाल रेडक्रसले तीनसय अति प्रभावितमध्ये पनि सुत्केरी,
गर्भवती, अपाङ्गता तथा अति सङ्कटासन्न परिवारलाई प्राथमिकता दिदै न्यायो कपडासहित रु १५ हजार सहयोग गर्ने नीति लिएको छ । यसमा डोटीका दुई सय, अछामका एक सय र बझाङका एक सय लाभग्राही पहिचान गरिएको छ ।
स्थानीय पालिकाको सिफारिस र समन्वयमा लाभग्राही पहिचान गरी उनीहरूकै खातामा रकम जम्मा हुने व्यवस्था मिलाइएको हो ।