महिलासँग ब्ल्याकमेल गर्ने सशस्त्र प्रहरीका भगौडा भट्ट धनगढीबाट पक्राउ
धनगढी, २१ पुष । महिलासँग ब्ल्याकमेल गरेको आरोप लागेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट पक्राउ परेका छन् । कैलाली प्रहरीले उनलाई धनगढीबाट पक्राउ गरेको हो ।
ठगीमा संलग्न नटवरलाल अर्थात पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । विभिन्न ठगी र अपराधमा संलग्न उनी यसअघि कारागार बसिसकेका व्यक्ति हुन् ।
उनी पाँच वर्षदेखि सुदूरपश्चिममा बसेर संगठित रुपमै विभिन्न अपराधमा गर्दै आएका आरोप छ । भट्ट चिटिक्क परेर विशेष गरी महिलाहरुसँग नजिक भएर संगठित रुपमै ठगी गर्दै आएका छन् । उनले दिने परिचयबाट जो कोही पनि सहजै रुपमा उनीसँग आकर्षित र प्रभावित बन्ने गरेका छन् ।
समय परिवेशअनुसार नटवरलाल आफ्नो व्यक्तित्व परिवर्तन गर्न माहिर छन् । ठगीका अनेक उपाय उनी पोख्त छन् । उनी विशेष गरी महिलाहरुलाई ठग्न संगठित रुपमै लागेका छन् । नटवरलालले अहिलेसम्म डोटी, कैलाली र कञ्चनपुरमा गरी दर्जनौ महिलाहरुलाई ठगी गरिसकेका छन् । महिलाहरुलाई आर्थिक प्रलोभवनमा पारेर नटवरलाले संगठित रुपमै ठगी धन्दा चलाइरहेका प्रहरीले बताएको छ ।