एक बर्षदेखि एम्बुलेन्स धनगढीमा थन्किदा सास्थी खेप्दै पञ्चेश्वरका बिरामी

धनगढी १८ पुष । बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स एक बर्षदेखि धनगढीमा थन्किएको छ । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्सले करीब एक बर्ष अगाडि धनगढीमा मोटरसाइकललाई ठक्कर दिएपछि एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एक बर्षदेखि धनगढीमा थन्किएको छ ।

गाउँपालिकामा एम्बुलेन्स नहुँदा बिरामीहरुले भने सास्ती भोग्नुपरीरहेको स्थानीय जयबहादुर चन्दले बताए । उनले भने ‘आकस्मिक बिरामीहरुलाई अन्यत्र लैजानका लागि एम्बुलेन्स नहुँदा समस्या भएको छ ।’

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स चालकसंग हलुका सवारी साधनको मात्रै लाइसेन्स भएको र एम्बुलेन्स हेबी भएकाले हेबी सवारी साधनको लाइसेन्स भएको चालक राख्न पनि प्रहरीले भनेको छ ।

पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स एक बर्षदेखि धनगढीमा थन्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर बोहराले स्वीकार गरे । एम्बुलेन्सले ठक्कर दिएको मोटरसाइकलको पाटपूर्जा मगाएर मर्मत गर्नुपर्ने भएकाले ढिलाइ भएको उनले बताए । उनले भने ‘ मोटरसाइकलको पाटपूर्जा नपाउँदा एम्बुलेन्स ल्याउन नसकिएको हो । अबको १० दिनभित्र एम्बुलेन्स ल्याउने तयारी भइरहेको छ ।’

जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले पनि पञ्चेश्वर गाउँपालिकालाई एम्बुलेन्सको व्यवस्थापन गर्न पटक पटक आग्रह गरेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.