सुदूरपश्चिममा ट्राफिक प्रहरी कर्मचारीहरुको काममा अवरोध गर्ने १८ जना सवारी चालकलाई कारबाही गरियो
धनगढी, २ पुष । ट्राफिक प्रहरी कर्मचारीहरुको काममा अवरोध गर्ने १८ जना सवारी चालकलाई कारबाही गरिएको छ। आर्थिक वर्ष २०७९÷०८० को मंसिर महिनासम्म १८ जना चालकमाथि मुद्दा दर्ता गरी कारबाही गरिएको हो। ‘उनीहरुले ड्युटीमा रहेका प्रहरी कर्मचारीहरुलाई अभद्र व्यवहार गरी काम प्रभावित गर्न खोजेका थिए,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र कुमार पालले भने। अत्तरियास्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि पछिल्ला दिनमा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्नुका साथै कानूनी प्रक्रियामा पनि जान थालेको हो। व्यक्तिगत नम्बर प्लेटका साना सवारीसाधनहरुले यात्रु ओसारपसार गर्न थालेपछि उक्त कार्यलाई पनि निरुत्साहित गर्न खोजिएको छ।
यसरी यात्रु बोक्ने दर्जनौँ सवारी साधनलाई कारबाही गरिरहेको प्रहरी नायव उपरीक्षक पालले जानकारी दिएका छन्। ‘ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरुलाई कारबाही र मापदण्ड बिपरीत स्पष्ट नम्बर प्लेट नभएका (चित्र, नक्सा, झण्डा, बुट्टा) भएका सवारी साधनहरुलाई नियन्त्रणमा लिई मापदण्ड बमोजिमको नम्बर प्लेट लेख्न लगाइरहेका छौँ,’ उनले भने। यो आवको असार महिना यता ६ हजार ५४८ जना चालकहरुलाई सम्झाई बुझाई गरि छोडिएको छ। उनीहरुलाई ट्राफिक नियम पालना गर्ने प्रतिवद्धतासमेत गराएर छाडिएको हो। चालु आवमा लेन अनुशासनमा ५६७ वटा सवारी साधनलाई कारबाही गरिएको छ।
हेल्मेटको फिता, सिट बेल्ट अनिवार्य लगाउने अभियान पनि सुरु गरिएको प्रहरी नायव उपरीक्षक पालले बताए। पछिल्लो समय ट्राफिक व्यवस्थापन गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालय आक्रामक ढंगले प्रस्तुत भइरहेको छ। विगतको तुलनामा सवारी दुर्घटना न्यूनिकरण भएको, राजस्व वृद्धि भएको र ट्राफिक व्यवस्थापन पनि सुधारिएको उक्त कार्यालयले जनाएको छ। मुख्य, मुख्य चोकहरुमा ५० मिटर क्षेत्रभित्र सवारी साधन रोक्न निषेध गरिएको छ।
अटोको दुबै पट्टिबाट यात्रुहरुलाई चढाउने र ओराल्ने गरिएको थियो। त्यसले दुर्घटना बृद्धि हुने सम्भावना भएकाले अटोको दाहिनेपट्टि फलामको डण्डी राख्न लगाउने अभियान पनि सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। तीब्र गति नियन्त्रण गर्नका लागि मुख्य राजमार्गमा आधुनिक उपकरण रिडार स्पीड गनको प्रयोग भइरहेको छ। तीब्र गतिमा सवारी चलाउने चालकलाई कारबाही गर्न थालिएको छ। यो आवको हाल सम्म १४३ वटा त्यस्ता सवारी साधनहरुलाई कारबाही गरिनुका साथै सम्झाई बुझाई गरिएको छ।