किटानी जाहेरी पछि चेतनाको शव बुझे आफन्तले
धनगढी,१६ मंसिर । धनगढीमा ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको शव परिवारले बुझेको छ ।जिल्ला प्रहरी कार्यालयले बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमाल विरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले चालक विरूद्व किटान जाहेरी दर्ता भएर अदालतबाट ४ दिन म्याद थप गरिएपछि परिवारले शव बुझेको जानकारी दिए । सेती प्रादेशिक अस्पतालमा परीक्षणपछि मृतकको शव परिवारको जिम्मा लगाएको सूचना अधिकारी जोशीले बताए ।
बैतडीको डिलासैनी गाउँपालिका ६ की बालिका साउदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्करबाट घाइते भएकी साउदलाई चालकले ग्रेडर ब्याक गरेर मारेको भन्दै विद्यार्थी र स्थानीयले विरोध प्रदर्शन गरेपछि प्रहरीले शव उठाउन सकेको थिएन । साँझ घटनास्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै शव उठाइएको थियो।