मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न भए माथिको आदेशबिनै गोली चलाउन पाइने : गृह मन्त्रालय
धनगढी, २ मंसिर । गृह मन्त्रालयले चुनावमा बुथकब्जा एवं मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न भए माथिको आदेशबिनै गोली चलाउने अधिकार सुरक्षाकर्मीलाई दिएको छ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहसचिव विनोदप्रकाश सिंहले आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा गोली चलाउन माथिको आदेश नचाहिने परिपत्र गरिएको जानकारी दिए।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना ७४ हजार ८४९, नेपाल प्रहरी ७१ हजार ६९३, सशस्त्र प्रहरी ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ९२१ र म्यादी प्रहरी १ लाख १५ हजार गरी कुल २ लाख ९८ हजार ५७९ सुरक्षाकर्मी फिल्डमा खटाइएको छ।