निर्वाचन आयोगले मन्त्री बडूलाई २४ घण्टे स्पष्टीकरण सोध्यो
धनगढी २५ कार्तिक । निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर उच्च माविमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)समेतको दलले गरेको चुनावी सभाको विषयमा आपूर्तिमन्त्री बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले दार्चुला १ (१) मा काँग्रेसका उम्मेदवार विक्रम सिंह धामी, प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर धामी र विद्यालयका प्रधानाध्यापक धनञ्जय जोशीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । यस सम्बन्धमा दार्चुलाका निर्वाचन अधिकृतलाई आवश्यक कारबाही गर्न निर्देशनसमेत दिएको छ । यस्तै,निर्वाचन आयोगमा प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।
आयोगले मन्त्री बडूलाई सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्षमा प्रयोग गर्न नहुने निर्वाचन आचारसंहिताको व्यवस्था सम्झाउँदै आचारसंहिता उल्लंघनको विषयमा २४ घण्टाभित्र स्ष्टीकरण दिन निर्देशन दिएको छ । विद्यालयका प्रधानाध्यापक जोशीलाई चुनावी सभा विद्यालयमा प्रयोग गर्न दिनुको कारण पेश गर्न भनिएको छ ।