बैतडीका उम्मेदवार घर दैला गर्नमा व्यस्त
धनगढी, १६ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै बैतडीका राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । फरक फरक राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू मतदाताको घर दैलोमै पुगेर मत मागिरहेका छन् ।
उम्मेदवार विभिन्न आश्वासन दिँदै मतदातालाई रिझाउनमा व्यस्त भएका छन् ।
निर्वाचन प्रचारमा जुटेका उम्मेदवारसहित दलका नेता, कार्यकर्ता घरदैलो तथा गाउँघरमा देखिन थालेका छन् । गाउघरमा मतदाताका माग र उनीहरूको समस्या बुझ्न मै व्यस्त छन् ।सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नरेन्द्र कुँवरले घरदैलो अभियान र अगुवा कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको बताए ।
उनले भने, ‘घरदैलो र भेटघाटको क्रममा गठबन्धनको आवश्यकताबारे मतदातालाई जानकारी दिने गरेका छौँ, माग र समस्याका बारेमा पनि बुझने गरेका छौँ ।’नेकपा (एमाले) ले पनि घरदैलो अभियान र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएको छ । सङ्घ र प्रदेशको छुट्टाछुट्टै टोली बनाएर घरदैलो अभियान सञ्चालन गरिएको एमाले बैतडीका सचिव चक्र कार्कीले जानकारी दिए।
उनले भने, ‘घरदैलो अभियान अन्तिम चरणमा छ ।’राप्रपाले पनि जनताको माग र आवश्यकता बुझ्न घरदैलो अभियान सञ्चालन गरेको उक्त पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार इन्द्रदेवशरण भट्टले बताए । उनले भने, ‘तल्लोस्वराड क्षेत्रलाई बढी केन्द्रित गरेर घरदैलो अभियान सञ्चालन गरेका छौँ, त्यसपछि अन्य ठाउँमा पनि घरदैलो गर्छौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घरदैलो अभियानमा व्यस्त रहेको जनाएको छ । उक्त पार्टीका सुदूरपश्चिम सचिव भोजराज जोशीका अनुसार भोट माग्न उम्मेदवारसहित घरदैलो अभियान जारी छ । उनले भने, ‘घरदैलोमै पुगेर उनीहरूका समस्याका बारेमा बुझिरहेका छौँ । उनीहरूकै मागका आधारमा हामीले भावी योजना बनाउँछौँ ।’
गत वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन बलियो अवस्थामा छ । सो गठबन्धनमा रहेको कांग्रेसको ३३ हजार छ सय ८३, माओवादीको १४ हजार नौ सय ९८, एकीकृत समाजवादीको तीन हजार एक सय ४० मत छ । एमालेको ३५ हजार ४८ र राप्रपाको दुई हजार चार मत छ ।
यसैबीच जिल्ला निर्वाचन कार्यालयले सबै दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेको छ । उम्मेदवारलाई चुनावी प्रचारमा जाँदा १० भन्दा बढी झण्डा, २५ भन्दा धेरै व्यक्ति, बाजासहितको भीडभाडमा आयोगले रोक लगाएकाले आचारसंहिताविपरीतका गतिविधि नगर्न आग्रह गरेको छ ।
त्यस्तै बैतडीका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने सीमा तोकिएको भने आयोगले प्रतिनिधिसभाका सदस्य उम्मेदवारले ३३ लाख, प्रदेशसभा–१ का उम्मदेवारले २१ लाख र प्रदेशसभा–२ का उम्मेदवारले २३ लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको हो ।बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा छन् ।
यस्तै क्षेत्र नं १ ‘क’ मा एक स्वतन्त्रसहित छ जना र क्षेत्र नं १ ‘ख’ मा पाँच जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।