गोदावरीमा रहेको आर्यघाटलाई व्यवस्थीत बनाउन गुरुयोजना
धनगढी, १६ कार्तिक । कैलाली जिल्लाको गोदावरी नगरपालिका – ४ गोदावरीमा रहेको आर्यघाटलाई व्यवस्थीत बनाउन गुरुयोजना बनाईएको छ । नगरपालिकाले आर्यघाटलाई दिगो रुपमा व्यवस्थीत गर्न गुरुयोजना बनाएको हो । सो योजना अनुसार राजमार्गदेखि भित्र आर्यघाट सम्म पुग्ने बाटो कालोपत्रे गरिने भएको छ ।उक्त नगरपालिकाले चालु आर्थिक वर्षमै सो क्षेत्रसम्म पुग्ने बाटो कालोपत्रे गर्ने नगरप्रमुख विरेन्द्र भट्टले बताए ।
‘ आर्यघाटसम्म पुग्ने बाटो समेत राम्रो छैन, सर्वप्रथम त त्यसको व्यवस्थापन गर्नुपर्ने छ’ उनले भने ‘त्यसका लागि चालु आर्थिक वर्षभित्रै नगरपालिकाले आर्यघाट सम्म पुग्ने बाटो कालोपत्रे गर्ने योजना बनाएको छ ।’ उनले आर्यघाटमा पानीको व्यवस्थापन गर्ने, क्रियापुत्रिहरुलाई त्यहि क्रिया गर्नुपर्दा बस्ने घरको व्यवस्था गर्ने र शव पोल्न सहज बनाउनका लागि नदीले नभत्काउने गरी एउटा संरचना बनाउने योजना रहेको बताए ।संरचना निर्माणका लागि डिपिआर बनाउने कुरा चलिरहेको पनि उनले बताए ।
यस्तै उनले गुरुयोजना बनाउने र त्यसको कार्यान्वयन गर्ने कार्य नगरपालिकाबाट सम्भव नहुने भएकाले संघ सरकार मार्फत सो कार्यका लागि पहल थालिने बताए । त्यसका लागि आफू सक्षम रहेको र जसरी भएपनि आर्यघाटलाई व्यवस्थीत बनाउने प्रतिबद्धता व्यक्त गरे ।