प्रवासीलाइ देशमै रोजगारी सिर्जना गर्ने राप्रपाको घोषणापत्र सार्वजनिक
काठमाण्डौ, १४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार (मताधिकार) दिनेदेखि देशमै रोजगारी सिर्जना गर्ने लगायत रोजगारीका विषयलाई समेटेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।प्रतिनिधिसभा र प्रदेशसभाको लागि राप्रपाले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता तथा घोषणापत्रमा वैदेशिक रोजगारी र स्वदेशमै रोजगारी सिर्जनालाई महत्वका साथ समेटेको हो ।रोजगारीको शिलशिलामा प्रदेश जानु नपर्ने र दीर्घकालीन राष्ट्रिय रणनीतिमा व्यापक रोजगारीको अभिवृद्धिलाई समेटेको छ ।
सो पत्रमा स्वदेशमा पूर्ण रोजगारीको अवसर नमिलेसम्म वैदेशिक रोजगारीको लागी जानेहरुलाई तालिम, सीप विकास, सहुलियत ऋण र जीवन बिमाको व्यवस्था गरेको छ ।आउँदो पाँच वर्षभित्रको कार्यकाल भित्र देशमा रोजगारीका अवस्था सिर्जना गरि वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा झार्ने उल्लेख छ । प्रत्येक पालिका तहमा बेरोजगार युवाको लागि सीप मुलक तालिम केन्द्र स्थापना गरि सीप सिकेका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।
यस्तै, एक परिवार एक रोजगार अवधारणा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र स्थानीय विकासका क्षेत्रहरुमा सहयोग र सहजीकरण गर्न निश्चित समयको रोजगारी सहित प्रत्येक वर्ष १० लाख राष्ट्रिय स्वंसेवक परिचालन गर्ने कुरा पनि अगाडि सारेको छ ।यस्तै राप्रपाले आफ्नो घोषणापत्रमा उद्योग, कलकारखाना स्थापना गरि निर्यात बढाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उल्लेख छ ।
रुग्ण अवस्थामा रहेका उद्योग कलकारखानलाई पुनर्निमाण र आधुनीकीकरण गर्दै सञ्चालन गर्ने, वैदेशिक लगानीलाई पनि आकर्षित गर्न उद्योग दर्ता प्रक्रियामा सरलीकरण गर्ने र रोजगार तथा निर्यात प्रबद्र्धन गर्ने उद्योगलाई करमा छुटदेखि सहुलियत प्रदान गर्ने कुराहरु पनि समेटिएका छन् ।व्यावसायिक शिक्षा तालिम कोष नामक वृहत कोष टीभीईटी फण्ड निर्माण गर्ने र सहकारी क्षेत्रबाट उत्पादन वृद्धि र रोजगारी सिर्जना गरि गरीबी न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा पत्रमा लेखेको छ ।रोजगारी सिर्जनाको लागि कृषिलाई प्राथमिकता दिएको छ ।
कृषिजन्य उद्योगमा स्थानीय रोजगार प्रबद्र्धनलाई प्राथमिकता दिइ निर्यात मुलक कृषिजन्य उत्पादन गर्ने जनाएको छ । त्यसको लागि किसानको खेतखेतमा बिजुली पुग्ने व्यवस्था र पूर्वाधार कृषिमा जोड दिएको छ ।