आफ्नै दलको चिह्नमा चुनाव लड्न ५८ वटा साना दलको विवरण प्राप्त
काठमाण्डौ – स्थानीय तहको चुनावमा आफ्नै दलको चुनाव चिह्न लिनका लागि ५८ वटा साना दलले विवरण पेस गरेका छन् ।
राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा दललाई आफ्नै चिह्नबाट चुनाव लड्नका लागि आयोगले यही चैत ६ गतेसम्म जिल्लाको सक्रिय सङ्गठन र जिल्ला समितिको विवरण पेस गर्न समय दिएको थियो ।
अहिलेसम्म ५८ वटा दलको विवरण प्राप्त भएको र केहीको विवरण जिल्ला निर्वाचन कार्यालयले पठाउने क्रममा रहेका आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभयो । प्राप्त भएको विवरण अध्ययन गर्ने र जुन–जुन जिल्लामा सङ्गठन र समिति छ, ती जिल्लामा मात्रै दलका उम्मेदवारले चुनावमा आफ्नै दलको चुनाव चिह्न पाउनेछन् ।
यसैबीच निर्वाचन आयोगले निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याउने भएको छ । यही चैत १५ गतेदेखि चल्ने गरी आयोगले ११०२ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याउन लागेको हो । टोल फ्री नम्बरमा मतदाता, राजनीतिक दल, उम्मेदवार लगायतले स्थानीय तहको चुनावसम्बन्धी जिज्ञासा, गुनासो र प्रश्न राख्न सक्नेछन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तीव्र गतिमा तयारी गरिरहेको छ ।