बैतडीको सिगास गाउँपालिका स्तरीय `राष्ट्रपति रनिङ शिल्ड`मा बालकृष्ण माध्यामिक विद्यालय प्रथम
बैतडी फागुन ३०,स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको बैतडीको सिगास गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन गरिएको छ ।
सिगास गाउँपालिका अन्तर्गत वडा नं। २ गाँजरीमा रहेको अर्जुन माध्यमिक विद्यालयको खेल मैदानमा २७ गते देखि सञ्चालित पाचौं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विभिन्न खेलकुद कार्यक्रमको आयोजना गरी आज एक औपचारिक कार्यक्रमका साथ समापन गरिएको हो ।
समापन कार्यक्रममा सभाध्यक्ष अर्जुन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश सिंह धामी, प्रमुख अतिथि वडा नं। २ का वडा अध्यक्ष प्रेम सिह धामी, विशिष्ट अतिथि अर्जुन माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल सिह धामी सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।
२७ गते बाट सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रछात्रा दुबै तर्फ भलिबल, दौड एथलेटिक्स लगायतका खेल खेलाइएको आयोजकले जनाएको छ ।
जसअन्तर्गत भलिबल प्रतियोगितामा छात्र टिम तर्फ शिगास माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गर्दै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ द्वितीय स्थानमा चित्त बुझाएको बालकृष्ण माध्यमिक विद्यालय न्वाघरले ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ तृतीय स्थान हासिल गरेको अर्जुन माध्यमिक विद्यालयले पनि ट्रफि र प्रमाणपत्र हात पारेको छ ।
भलिबल प्रतियोगितामै छात्रा टिममा वालकृष्ण माध्यमिक विद्यालयले प्रथम स्थान प्राप्त गर्दै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ द्वितीय स्थान हासिल गरेको अर्जुन माध्यमिक विद्यालय गाँजरीले ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ तृतीय स्थान हासिल गरेको शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीले पनि ट्रफि र प्रमाणपत्र हात पारेको छ ।
एथलेटिक्स तर्फ बालकृष्ण माध्यमिक विद्यालय न्वाघर प्रथम, भुमिराज माध्यमिक विद्यालय द्वितीय र अर्जुन माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्दै प्रमाणपत्र प्राप्त गरेको छ ।
सम्पूर्ण खेलमा राम्रो अनुशासन तर्फ उदय माध्यमिक विद्यालय गन्सुर छनौट भएको र प्रमाणपत्र हासिल गरेको जनाइएको छ ।
त्यस्तै भलिबल प्रतियोगितामा वेस्ट प्लेयर लाइ कप मेडल र प्रमाणपत्र एवम् रेफ्री लाइ दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको सिगास गाउँपालिका खेल प्रशिक्षक दिपेन्द्र सिंह धामीले जानकारी दिनुभएको छ ।
सिगास गाउँपालिका द्वारा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उत्कृष्ट विजेता बालकृष्ण माध्यमिक विद्यालय न्वाघर बन्दै ट्रफि र प्रमाणपत्र सहित नगद ११ हजार १ सय १ रुपैयाँ हात पारेको छ । द्वितीय स्थानमा चित्त बुझाएको अर्जुन माध्यमिक विद्यालय गाँजरीले ट्रफि र प्रमाणपत्र सहित नगद ८ हजार ८ सय ८ र तृतीय स्थान हासिल गरेको शिवलिङ्ग माध्यमिक विद्यालय धौलाडीले ट्रफि र प्रमाणपत्र सहित नगद ५ हजार ५ सय १५ रुपैयाँ पुरस्कार प्राप्त गरेको सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापन कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले सिगास गाउँपालिका द्वारा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन गर्न सहयोग गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, जनप्रतिनिधि, शिक्षक विधार्थी अविभावक लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।
यस्तै उहाँले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा उल्लेखनीय विकास र प्रगति गर्न सम्बद्ध सबैमा सहयोगको अपेक्षा गरेको पनि बताउनुभएको छ ।
यस अघि पनि पहिलो सिगास गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्जुन माध्यमिक विद्यालय गाजरी दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लेक लुपुड माध्यमिक विद्यालय शिवलिङ्ग, तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शारदा माध्यमिक विद्यालय ढुङ्गाडमा आयोजना गरिएको थियो भने २०७७ सालको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण स्थगित गरिएको थियो ।