बच्चा चोरीको आरोपमा कञ्चंनपुरमा चार जना पक्राउ

धनगढी, ५ असोज ।कञ्चंनपुरमा बच्चा चोरी गर्न लागेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ बाट ईलाका प्रहरी कार्यालय झलारीले बच्चा चोरी गर्न लागेको आरोपमा मंगलवार पिल्लरीफाँटाबाट चार जनालाई पक्राउ गरेको जनाएको छ ।
एक जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा रौतहटका २८ वर्षिय अनील कुमार शाह सहित भारतको बिहार मोतिहारीका ३३ वर्षिय पिन्टु शाह,२५ वर्षिय राज किशोर शाह र २७ वर्षिय विकास कुमार शाह रहेका छन् । उनीहरु कैलालीको अत्तरियामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।
स्थानीयले बच्चा चोर्न खोजेको भन्दै हो–हल्ला गरेपछि उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) चक्र बहादुर शाहले बताए । बच्चा चोर्दै गरेको अवस्थामा पक्राउ परेका हैनन्, टोलमा नयाँ मानिस देखेपछि स्थानीयले बच्चा चोर्न आएको हुन सक्ने आशंकामा हो–हल्ला गरेका थिए । थप अनुसन्धानका लागि पक्राउ गरेका छौं,’ डिएसपी शाहले भने ।
सुनचाँदीको गहना बनाउन हिँडेका उनीहरुले बच्चा चोर्न खोजेको भन्ने जानकारी पिल्लरीफाँटाका बासिन्दाले प्रहरीलाई दिएका थिए ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.