स्थानीय तह चुनावमा सत्तारुढ दलहरू मिलेर जाने सहमति भईसक्यो:माधव नेपाल

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूबीच स्थानीय तह चुनावमा मिलेर जाने सहमति भइसकेको दाबी गर्नुभएको छ ।

आज बुधवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष नेपालले स्थानीय तह चुनावको तयारीको सन्दर्भमा सत्तारुढ दलहरूबीच मिलेर जाने सहमति भएको बताउनुभएको हो । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि पारस्परिक लाभ कसरी लिन सकिन्छ भन्ने विश्लेषण गरेर स्थानीय तहको चुनावमा परिचालित हुन सिङ्गो पार्टी पङ्क्तिलाई उहाँले आह्वानसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले अब सिङ्गो पार्टीको ध्यान स्थानीय तह चुनावमा केन्द्रित हुने पनि स्पष्ट पार्नुभयो । त्यसका लागि आवश्यक सङ्गठन र योजना निर्माण गर्न यो बैठकले महत्त्वपूर्ण निर्णय लिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सम्पूर्ण ध्यान अब चुनावमा केन्द्रित हुनेछ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी गरिरहेका छौँ र चुनावमा हामी मिलेर जान्छौँ भन्ने सहमति भएको छ । सबै ठाउँमा मिल्न सकिँदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसमा निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैँलाई हुनुपर्‍यो । अरू पार्टीहरूको शक्ति कति छ, त्यसको पनि जानकारी हुनुपर्‍यो । ७७ वटै जिल्लामा, सात सय ५३ वटै स्थानीय तहमा हाम्रो उपस्थिति हुनुपर्दछ ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.