कञ्चनपुरमा सत्तागठबन्धनको सिट बाँडफाँड टुङ्गियो
धनगढी ३१ भाद्र । प्रतिनिधि सभाको निर्वाचनका लागि कञ्चनपुर जिल्लाको बाँडफाँड भएको छ । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनका पाँच दलबीच सिट बाँडफाँडमा सहमति जुटेको हो ।
प्रतिनिधि सभाका लागि तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा नेकपा(माओवादी केन्द्र)ले एक र नेपाली कांग्रेसले दुई क्षेत्र पाउने भएका छन् । माओवादी केन्द्रले क्षेत्र नम्बर १ तथा कांग्रेसले क्षेत्र नम्बर २ र ३ पाउने सहमति भएको हो।
नेताहरुका अनुसार माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट पार्टी पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री विना मगरलाई एकल सिफारिस गरेको छ । नेपाली काँंग्रेसबाट २ बाट पूर्वमन्त्रीसमेत रहेका एनपी साउँद, निवर्तमान जिल्ला सभापति हरिप्रसाद बोहरा र नेता,
प्रेम बलायर तथा क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री रमेश लेखक र गणेश सिंह नेगीलाई सिफारिस गरिएको छ। क्षेत्र २ बाट साउँद र ३ बाट लेखकले टिकट पाउने पक्कापक्की भएको नेताहरुको दाबी छ ।
प्रतिनिधि सभाका तीन सिट बाँडफाँडमा सहमति गरेको गठबन्धनले प्रदेशका ६ सिटसमेतमा भने सहमति गर्न सकेको छैन। तर एकीकृत समाजवादीले दुई, माओवादीले चार र कांग्रेसले पाँच प्रादेशिक निर्वाचन क्षेत्रमा दाबी गर्दै आएका छन्।