१ लाख १५ हजार म्यादी प्रहरीमा भर्ना खुल्यो
धनगढी २६ भदौ। आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो ।
म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा दिन सकिने छ ।
दरखास्त दिनेहरु राजनीतिक दलको सदस्य नभएको, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको र आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको पनि हुनुपर्ने सूचनामा उल्लेख छ ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २ सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ ,हिमाली जिल्लामा खटिनेलाई थप १ हजार, आउने–जाने खर्च १ हजार रूपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च पनि पाउने छन् ।