बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली दार्जुला जाँदै
धनगढी २५ भाद्र । बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली अहिले दार्जुला जाँदै छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा। रणबहादुर रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली त्यसतर्फ जान लागेको हो ।
दार्चुला जान मन्त्री बडू धनगढी आइपुगेका छन् । यहाँबाट राहत सामग्री लिएर उनीहरू दार्चुला जानेछन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला जाने तयारी छ ।
शुक्रबार रातिदेखिको अविरल वर्षासँगै दार्चुलाको नौगाड गाउँपालिका–२, सल्ला गाउँमा आएको बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । १० जना अझै बेपत्ता छन् । पहिरोले बस्तीमा ठूलो क्षति पुगेको हो ।