डोटीमा सुत्केरीको रक्तस्राव नरोकिएपछि हेलिकोप्टरबाट उद्धार
धनगढी २३ भाद्र । डोटीमा एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको सायल गाउँपालिका–६ कि २५ वर्षीया धौली साउदको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
साउदलाई अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको एनए ०६१ कल साइन हेलिकोप्टरद्वारा उद्धार गरिएको डोटीको भैरव प्रसाद गणका गणपति जनमतबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार साउदलाइ कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ । उनलाई रक्तस्राव भएर बिहीबार जिल्ला अस्पताल डोटी पुगेकी थिईन् ।
उनको गर्भमै शिशुको मृत्यु भएको जिल्ला अस्पताल डोटीका मेसु निराजन श्रेष्ठले बताए । शल्यक्रियामार्फत मृत शिशु निकालिएपछि उनलाई अत्यधिक रक्तस्राव भएको अस्पतालका मेसु श्रेष्ठले बताए ।
उनका अनुसार रक्तस्राव नरोकिए पछि सुत्केरीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको हो ।