म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी गर्न नपाइने

धनगढी,२२ भाद्र । आगामी आमनिर्वाचनमा खटिने म्यादी प्रहरीले सामाजिक सञ्जालमा टीकाटिप्पणी तथा जथाभावी सामग्री राख्न र सेयर गर्न नपाउने गरी सरकारले मापदण्ड बनाएको छ । गृह मन्त्रालयले स्वीकृत गरेको ‘भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ मा म्यादीले ड्युटीको मर्यादा बाहिर गएर निर्वाचनसम्बन्धी धारणा राख्न र अनावश्यक सामग्री पोस्ट गर्न नपाउने उल्लेख छ ।

म्यादीले ड्युटीको समयमा मोबाइल फोन प्रयोग गर्न र आफ्नो काम अरूलाई सुम्पिएर अन्यत्र हिँड्न वा भाग्न पनि पाइने छैन ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले म्यादी भर्ना भइसकेपछि तोकिएको अवधिभित्र मापदण्ड कडाइका साथ लागू गराउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिएनुभयो । प्रहरी प्रवक्ता नायब महानिरीक्षक डीआईजी टेकप्रसाद राईले गृहबाट स्वीकृत मापदण्डअनुसार भर्ना प्रक्रिया अघि बढाउन लागिएको बताए। मापदण्डविपरीत गतिविधि गरे म्यादीलाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिने मन्त्रालयले जनाएको छ ।

आगामी निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सरकारले प्रहरी प्रधान कार्यालयलाई स्वीकृति दिइसकेको छ । प्रहरीले १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकबाट म्यादी छनोट गर्न देशभरका जिल्ला प्रहरी कार्यालयमा भदौ ३० देखि असोज ६ सम्म आवेदन खुलाउँदै छ ।

म्यादी प्रहरीले तलबरभत्ता, रासन, खाजा खर्च लगायतमा एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउने भएका छन् । स्थानीय तह निर्वाचनको तुलनामा म्यादीलाई करिब ६ हजार रुपैयाँ बढी दिन लागिएको हो । सरकारले सबै राष्ट्रसेवकको तलब साउन १ बाट १५ प्रतिशत बढाएका कारण म्यादीले पाउने रकम पनि बढेको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.