कैलालीमा डेंगुको प्रकोप तिब्र रुपमा फैलिदै,एक महिलाको मृत्यु
धनगढी १६ भाद्र । कैलालीको एक महिलाको डेंगु संक्रमणबाट ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १२ की ३५ वर्षीया गीता शाहीको मंगलबार निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
उनका अनुसार मंगलबार बिहान उनको मृत्यु भए पनि बुधबार डेंगीका कारण मृत्यु भएको खुलेको थियो । डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको हो ।
कैलालीमा डेंगुको प्रकोप तिब्र रुपमा फैलिरहेको छ । चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही पहिलो व्यक्ति भएको धामीले बताए ।
डेंगुको संक्रमण बढ्दै गएपछि कैलालीका १३ वटै स्थानीय तहलाई सचेत रहन र संक्रमण रोक्न अभियान सञ्चालनका लागि पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।