धनगढी उपमहानगर र वनस्पति अनुसन्धान केन्द्रबीचको विवाद सार्वजनिक

 धनगढी १० भदौ । धनगढी उपमहानगरपालिका कार्यालय र वनस्पति अनुसन्धान केन्द्रबीच जग्गाको स्वामित्व एवंम् भोगाधिकारको विषयमा विवाद सुरु भएको छ । उपमहानगरले वडा नं.७ मा रहेको वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको देवहरिया वनस्पति उद्यानमा आफूखुसी संरचना बनाउन थालेपछि विवाद सार्वजनिक भएको हो ।

उक्तत वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा उपमहानगरपालिकाले आफु खुसि डोजर चलाएर जबरजस्ती भौतिक संरचना बनाएको भन्दै वनस्पति अनुसन्धान केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ । उपमहानगरपालिकाले भने केन्द्रसँगको समन्वयमा सो संरचना बनाएको दाबी गरेको छ ।

आफ्नो क्षेत्राधिकार भित्र पर्ने जाखौर ताल क्षेत्र अतिक्रमण गरी बनाइरहेका संरचना रोक्न पटक–पटक लिखित र मौखिक रुपमा आग्रह गर्दा समेत उपमहानगरपालिकाले अटेरी गरेका वनस्पति अनुसन्धान केन्द्रले बताएको छ । अनुसन्धान केन्द्रले सो कार्य निर्माणको कामलाई हटाउन जिल्ला प्रशासन कार्यालयको सहयोग मागेको छ ।

केन्द्रका प्रमुख गंगादत्त भट्टका अनुसार २९ साउनमा प्रशासनलाई लेखेको पत्रमा जाखौर तालमा वनस्पति अनुसन्धान केन्द्रसँग कुनै जानकारी,सम्झौता र समझदारी बेगर धनगढी उपमहानगरपालिकाद्वारा अनाधिकृत र श्रृङ्खलावद्ध रुपमा विभिन्न निर्माण कार्यहरु गरिरहेकाले उपमहानगरले गरेको अतिक्रमण हटाउन सहयोग गरिदिन भनिएको छ ।

केन्द्रले आफ्नो स्वामित्व र क्षेत्राधिकार रहेको तालमा कुनै किसिमका निर्माण कार्य नगर्न पटक पटक मौखिक र लिखित रुपमा गरिएका पत्राचारको वेवास्ता गर्दै एकतर्फी रुपमा निर्माण जारी राखेपछि व्यवस्थापनका समेत कठिनाइ भइरहेको पत्रमा उल्लेख छ । केन्द्रले सहयोग मागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकालाई पत्र लेख्दै विवादबारे जवाफ मागेको छ ।
वनस्पति अनुसन्धान केन्द्रको पत्रका आधारमा जाखौर ताल क्षेत्रमा निर्माण गरिएका संरचना सम्बन्धी विवाद के हो ? भनेर उपमहानगरपालिकासँग जवाफ माग गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको देवहरिया वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा धनगढी उपमहानगरपालिकाले फुटपाथसहित सौर्य बत्ती जडान गरेको छ ।

उपमहानगरपालिकाले २०७६ असार १२ मा रोयल प्रशंसा जेभीसँग ४ करोड ४९ लाख ५५१६ रुपैयाँमा ठेक्का सम्झौता गर्दै संरचना बनाएपछि दुवै निकायबीच विवाद सुरु भएको हो ।

उपमहानगरपालिकाले डोजरको प्रयोग गरी ताल क्षेत्र वरपरको माटो निकाल्दै डिल बनाएर फुटपाथ निर्माण गरेको छ भने रेलिङ बनाउदै सौर्य बत्ती जडान गरेको छ ।उपमहानगरले फुटपाथमै दुई सय ५४ वटा फलामे पोल गाडेर ७६२ वटा सौर्य बत्ती जडान गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.