मानवतावादी राजा,राष्ट्रीय विभूति जयपृथ्वी बहादुर सिंहको आज १४६औं जन्मजयन्ती
धनगढी ७ भाद्र । मानवतावादी राजा, राष्ट्रीय विभूति जयपृथ्वी बहादुर सिंहको १४६औं जन्मजयन्ती सुदुरपश्चिमाञ्चल साहित्य समाज र सुर्मादेवी समाजको आयोजनामा सम्पन्न भयो ।
प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले नेपाल सरकारले धेरै पछि राष्ट्रीय विभूति घोषणा गरेकोमा सबैले सरकारलाई धन्यवाद ज्ञापन गर्नुपर्ने बताए । उनले जय पृथ्वी बहादुर सिंहका शिक्षा, लोकतन्त्र, समाजवादका लागि गरेको योगदान बारे विशेष किसिमले अध्ययन अनुसंधान गर्नुपर्ने बताए ।
उनका कदमले देशमा विकास, लोकन्त्र, समानता, स्वतन्त्रताको प्रादुर्भाव भएको उनले दावी गरे । उनका अनुसार नेपालीहरूमा पहिलो मार्क्सवादी अध्येता, पहिलो कानूनमा स्नातक भएका थिए । कर्यक्रममा प्राज्ञ बासुदेव पाण्डेयले शिक्षाको विकासमा योगदान गर्दै सामाजिक, आर्थिक रुपान्तरणमा मियो राखेको बताए ।
सिंहले जहानिया शासक राणाहरूको नातेदार भएर पनि राणाशासनको अन्त गर्न पत्रकारिता र शिक्षा मार्फत जागरण ल्याएको बताए । पाण्डेका अनुसार सिंहले आफ्नो धर्म जात मानवता हो भनेर कथित जातीय कुलिनताको विरोध गरेको थिए । उनले सहिष्णुताको पक्षधर रहेका पनि बताए ।
अध्येता उत्तम बहादुर सिंहले आफूले यो अभियान २०२९ सालदेखि सुरू गरेकोले सरकारले राष्ट्रीय विभूति घोषणा गरेकोमा धेरै खुशी लागेको बताएका छन् । त्यस्तै समाजसेवी शिक्षक दान बहादुर ऐडीले उनको बहुमुखी प्रतिभाको चर्चा गर्दै राष्ट्रीय विभूति घोषणा गर्ने नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रमको अध्यक्षता ग्रहण गरिरहेका साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जयपृथ्वी बहादुर सिंहको बारेमा अब कलाकार, साहित्यकार, अध्येताहरूले आ–आफ्नो विधामा रचना र सिर्जना गर्नुपर्ने धारण राखे ।त्यास्तै सुर्मादेवी समाजका अध्यक्ष दिल बहादुर खातीले गेटा मेडिकल कलेजको नाम राष्ट्रीय विभूति जयपृथ्वी बहादुर सिंहको नाममा नामाकरण हुनुपर्ने तर्क राखेका छन् ।