शुक्रबार गौरीगंगा नगरपालिकाभरिका ४० जना युवा तथा महिलाहरुले गरे रक्तदान
धनगढी ३ भाद्र । रक्तदान नै जीवन दान हो भन्ने उद्देश्यले नेपाल फोटो ग्राफर एशोसिएसन गौरीगंगा उपसमिति कैलालीको आयोजना १८३ औं विश्व फोटो दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
गौरीगंगा ११ स्पोर्ट्स क्लव बढैपुरको सहकार्य, नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा कैलालीको प्राविधिक सहयोगमा शुक्रबार गौरीगंगा नगरपालिका बढैपुर बजारमा नगरभरिका ४० जना युवा तथा महिलाहरुले रक्तदान गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका वडा न ८ का अध्यक्ष करुणा चौधरीले रक्तदानले मानिसको जीवन बचाउने काम भएको बताए । विशिष्ट अतिथि रहेका खप्तड बहुमुखी क्यापस प्राध्यापक नर बहादुर देउवाले रक्तदानले मानवीय सेवा हुने बताए । नेपाल रेडक्रस सोसाइटी गौरीगंगा उपशाखा सभापति छ्त्र बहादुर बमले आयोजक तथा सहकार्य गर्ने स्पोर्ट्स क्लवको प्रशंसाको साथै सहयोगी भूमिका रहने बताए ।
सहकार्य गर्ने गौरीगंगा ११ स्पोर्ट्स क्लवका अध्यक्ष दिनेश कलेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल फोटो ग्राफर एशोसिएसन कैलालीका जिल्ला सदस्य साधुराम चौधरी र स्पोर्ट्स क्लवका सहसचिव हेमन्त राज जोशीले बिचार राखेका थिए । गौरीगंगा नगरपालिका वडा न ५ का अध्यक्ष विष्णु भाटले रक्तदान समेत गरेका थिए । कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।