नेपाली सांगीतिक क्षेत्रमा ठूलो क्षति,अस्ताए कलाकार लामा
काठमाण्डौ – वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।
हिजो एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्नु भएको र टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन । उहाँको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लैजाने तयारी भइरहेको छ ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत हुनुहुन्थ्यो । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गर्नुभएको छ । यस्तै, उहाँका कलकत्ते काइँयो, मुलाको चाना, चुइचुइचुइकने जुत्तालगायतका गीत लोकप्रिय छन् ।
उहाँको निधनले नेपाली सांगीतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ । सामाजिक सञ्जालमा कलाकार एवं उहाँका शुभचिन्तक तथा प्रशंसकहरुले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।