भदौ १ गते ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा

धनगढी १ भाद्र । सुदूरपश्चिम प्रदेश सरकारले बुधवार (आज) भदौ १ गते ओल्के पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

आज सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।साउन मसान्तसँगै प्रदेशमा ओल्के पर्वको रमझम सुरु हुन्छ । ओल्के मनाउन रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदुरपश्चिमेलीहरू स्वदेश फर्कन थालेका छन ।

साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ ।

ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, छोरीचेलीहरूलाई घरमा बोलाएर मिठोरमसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।

ओल्के संक्रान्ती पर्व पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ । लुगा–कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ । यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन् । विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.