धनगढीमा भेटियो व्यवसायिले जमिन मुनि गाडिएको अवस्थामा अवैध काठ
साउन १७ धनगढी । धनगढीमा एक व्यवसायीको जग्गामा गाडिएको अवस्थामा अवैध काठ भेटिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीका करन चौधरीको खेतमा गाडिएको अवैध काठ भटिएको हो।
काठ व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जमिनमा अवैध काठ गाडेको स्वीकार गरेका छन्। उनले भने, ‘मैले जंगलबाट ल्याएको हैन। मेरो खेतको रुख ढलेको होे। मैले जेसीबीले पुरेकै हो’ उनले भने, ‘सामुदायिक वनका अध्यक्षलाई लगेर जान भनेको थिए। तर उहाँहरुले लिनुभएन।’ उनले काठ ढाक्न माथिबाट ग्राभेल हालेको बताएका छन्। व्यवसायी चौधरीले ढलेको सालको रुख माटोले पुरेको बताएपनि उक्त क्षेत्रमा ठुलो परिणामको अवैध काठ रहेको स्थानीय बताउँछन्।
एक स्थानीयले भने, ‘ग्राभेल र भरान गरिएको माटोमुनी धेरै सालका गोलियाहरु छन् । करन यो क्षेत्रको ठुलो काठ व्यवसायी हो। उसले वनका कर्मचारीहरुलाई पनि मिलाएको छ।’ उनका अनुसार रातिको समयका करनको ट्याक्टर वनका कर्मचारीले छोपेका थिए। तर कर्मचारीलाई पैसा खुवाएपछि उनलाई छोडिएको स्थानीयले बताएका छन्। सव–डिभिजन वन कार्यालय, तारानगरको समूह बिहानै जालीमा पुगेको थियो। डिभिजन वन कार्यालयको समूह ढिलोगरि मात्र घटना स्थलमा पुग्यो। उनीहरु पहिले डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख पूर्णशंकर यादवको निवास गएका थिए। यादवले पत्रकार घटनास्थलमा पुगेपछि मात्रै कर्मचारी पठाएको एक वनका कर्मचारीले बताए।
निमित्त प्रमुखले व्यवसायी चौधरीसँग लेनदेन गरेको हुनसक्ने उनको आशंका छ।डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादव भने फोन उठाइरहेका छैनन्। सुरुमा सहायक वन अधिकृत जिसन कार्कीको नेतृत्वमा एक समूह डिभिजन वन कार्यालयबाट आएको बताएका उनले पछि फोन नउठाएका हुन्।