आर्थिक चलखेलका कारण सेती अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा आउन सकेन

धनगढी: सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्‍चालनमा नआउँदा बिरामी मर्कामा परेका छन्। प्रदेशका ९ ओटै जिल्लाका बिरामी उपचारका लागि आउने गरेको धनगढीमा रहेको प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालन नहुँदा चर्को मूल्य तिरेर बिरामी निजी अस्पतालमा जान बाध्य छन्।

मष्तिष्कघात र मष्तिष्कघात भित्रको चोट,नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपयोगी हुने सिटी स्क्यान मेसिन प्रादेशिक अस्पतालले सञ्चालन नगर्दा बिरामी धनगढीकै निजी अस्पतालमा चेकजाँचका लागि पुग्‍ने गरेका छन्।

आर्थिक चलखेलका कारण सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन सञ्चालनमा आउन नसकेको श्रोतको भनाई छ। श्रोतले भन्यो, ‘निजी अस्पतालमा सिटी स्क्यान गर्दा धेरै शुल्क तिर्नुपर्ने हुन्छ। तर, प्रादेशिक अस्पतालमा सञ्चालनमा भएको भए धेरै सस्तो पथ्यो।’

‘आर्थिक वर्ष ०७७/०७८ मा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिदका लागि नौ करोड बजेट विनियोजन गरेको थियो। सेती प्रादेशिक अस्पतालले २०७७ सालको कात्तिकमा मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको थियो।

पाँच महिनाभित्र सिटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने गरी काठमाडौंको म्याक्स मेडिटेक सिस्टमसँग ठेक्का सम्झौता भएको थियो। पाँच लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाखमा सो मेसिन खरिद गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार गत फागुनमा नै मेसिन जडान हुनुपर्ने भए पनि हालसम्म सञ्चालनमा आएको छैन।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सिटी स्क्यान सञ्चालनको अन्तिम तयारीमा रहेको बताए। ‘यो महिनाको अन्तिमसम्म सञ्चालनको तयारी थियो। प्राविधिक कारण केही समय ढिलो भयो’ सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने, ‘भवन निर्माण एक वर्ष ढिलो भएकोले समयमै सञ्चालन हुन सकेन, अब एक हप्ताभित्र हुन्छ।’

सिटी स्क्यान मेसिनको भवन निर्माणका लागि २०७७ असारमा अस्पताल प्रशासन र टीकापुरको इन्द्र धनु अछाम निर्माण सेवासँग सम्झैता भएको थियो। करसहित एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको थियो। तर, समयमा निर्माण कम्पनीले भवन निर्माण गर्न नसक्दा सेवा सूचारुमा ढिलाई भएको उनले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.