कञ्चनपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ७१ जना लाभान्वित
धनगढी,३० बैशाख । कञ्चनपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ७१ जना लाभान्वित भएका छन् । जिल्लाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा सिकलसेल र थालासेमियाका बिरामीहरूका लागि शुक्रवार र शनिवार शिविर सञ्चालन गरिएको थियो । बेलौरी नगरपालिकाको आयोजना तथा इशान मेमोरियल अस्पतालको सहकार्यमा सञ्चालित शिविरमा ४६ महिला र २५ पुरुष गरी ७१ जना बिरामीले सेवा लिएको अस्पतालका सूचना अधिकारी मदन भण्डारीले बताए ।
उनले सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूलाई निःशुल्क रगत जाँच गरी विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच तथा औषधी वितरण गरिएको बताए । शिविरमा सिभिल अस्पताल काठमाडौँमा कार्यरत हेमेटोलोजिष्ट डा. प्रेमराज श्रेष्ठद्वारा बेलौरीका १० ओटै वडाका सिकलसेल तथा थालासेमिया पोजेटिभ बिरामीहरूको रगत परीक्षण तथा चेकजाँच गरिएको बताइएको छ ।