लागु औषध दुर्व्यसन रोकथाममा अभिभावकको पहिलो भूमिका
यमुना साउद ,धनगढी,२२ वैशाख । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ। मानिसको स्नायु प्रणालीमा प्रभाव पारेर चेतना अनुभूति र मनोभावनामा असर ल्याइलिने गर्दछ । यस्तो पदार्थको सेवन गरेपछि मानिसको सम्झने, बुझ्ने र सोच्ने क्षमतामा भिन्नता आउँछ । लागूपदार्थ प्रयोग गर्दै जाँदा शारीरिक, मानसिक र मनोवैज्ञानिक रूपले त्यही लागूपदार्थमै निर्भर भएर बाच्नु पर्ने लत लाग्ने अवस्थालाई लागूपदार्थ दुर्व्यसन भनिन्छ ।
यस्तो अवस्थामा लागूपदार्थ सेवन गर्न नपाएमा असजिलो हुने, छटपटी बढ्ने, आँसु आउने ,रुने, कराउने,एकान्तमा बस्न रुचाउने, हाँस्ने जस्ता अनेकौँ लक्षणहरू देखा परि शारीरिक र मानसिक सन्तुलन ब्रिगन जान्छ र लागूपदार्थ सेवन गर्ने व्यक्तिले लागूपदार्थ प्राप्त गर्नको लागि जे जस्ता काम गर्न पनि तयार हुन्छ ।
यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारी उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । कानुनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, तोकिन आदि अवैध लागु औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
लागु औषध (नियन्त्रण) ऐन, २०३३ मा भएको व्यवस्था अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम, तैयारीको अफिम, औषधोपयोगी अफिम, कोकाको झार र पात, अफिम तथा कोकाको सारतत्व, मिश्रण वा लवण समेत मिसाई तयार गरिने पदार्थलाई सम्झनु पर्दछ भनी परिभाषित गरेको छ । नेपालको कानुन अनुसार लागु पदार्थको अवैध ओसारपसार, सञ्चय तथा प्रयोग गर्न बन्देज लगाइएको छ ।
आज भोलि हाम्रो गाउँ,टोल, सहरमा खुल्ला सिमानाको कारणले सहज रूपमा लागू औषध प्रयोग, बिक्रिवितरणको समस्या दिनानुदिन बढिरहेको छ । विशेष गरी किशोर किशोरी, विद्यालय तथा कलेजका बिद्यार्थीहरु बढी यसबाट प्रभावित हुन पुगिरहेका छन् ।
भविष्यका कर्णधार मानिएका विद्यार्थी तथा किशोर किशोरीहरू लागु औषध प्रयोगमा खर्च जुटाउनको लागी चोरी, कुटपिट, डकैती, लुटपाट, हत्याहिंसा समेत गर्न पछि पर्दैनन् । अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरूको स्वास्थ्य, मानसिक र मनोवैज्ञानिक रूपमा कमजोर हुँदै जाने भएकाले यस वाट व्यक्ति, परिवार, समाज मात्रै नभई राष्ट्रलाई नै ठुलो क्षति भइरहेको छ ।
लागु औषधको दुर्व्यसनमा कुनै पनि व्यक्तिलाई फस्न नदिन वा त्यसबाट टाढा रहनबाट बच्न बचाउन सबैभन्दा महत्त्वपूर्ण र पहिलो भूमिका अभिभावकको रहन्छ । बालबच्चाहरूको लागी अभिभावक उसको पहिलो गुरु पनि हो । आफ्ना सन्तानहरूलाई सधैँ असल संस्कार र व्यवहार सिकाउन घरपरिवार तथा अभिभावकहरूको पहिलो दायित्व पनि हो ।
साना उमेरका बालबच्चाहरूले अभिभावकको बोली व्यवहार, रहनसहन तथा खानपानको सिको समेत गर्ने हुँदा उनीहरूका सामु कुनै पनि नकारात्मक असर वा सिकाई पर्ने खालका व्यवहार गर्नु वा देखाउनु हुँदैन ।
बिशेषगरि किशोर किशोरीहरूले किन लागु पदार्थ वा मदिरा प्रयोग गर्छन् भन्ने कुनै ठोस कारण त छैन । तर अभिभावकहरूले आफ्ना सन्तानहरूको इच्छा, चाहना, मानसिकता नबुझेर तथा हेलचेक्राई गर्दा किशोर किशोरीहरू दुर्व्यसनीमा फस्ने गरेको पाइन्छ । साथीहरूको दबाब, मानसिक तनाव, मनोरञ्जनका लागी, पढाइमा समस्या कारण पनि बालबालिका दुर्व्यसनीमा फस्ने गरेका छन् ।
गरिबी कारण बालबालिकालाई स्कुल भर्ना गर्न नसक्नु ,भर्ना गरिसकेपछि पनि उच्च शिक्षा दिन नसक्नु, रोजगारीको सिलसिलामा भारत वा अन्य देशमा रहनु, अभिभावकहरूले आफ्ना सन्तानहरूलाई पर्याप्त समय दिन नसक्नु, पारिवारिक समस्या हुनु ,घरायसी आन्तरिक कलह हुनु , सोधेका प्रश्न वा जिज्ञासाहरूको जवाफ दिन झर्को मान्नुका साथै रेखदेखमा कमी रहनु पनि यसका मुख्य कारण हुन् ।
कतिपय अभिभावकहरूले मादक पदार्थ सेवन तथा धूम्रपान गरी घरभित्र प्रवेश गर्ने तथा कतिपय अभिभावकहरूले बच्चाहरूको साथमा बसी घरमै मादक पदार्थ सेवन गर्ने र कतिपयले त बच्चाहरूलाई नै मद्यपान तथा धूम्र पानहरू खरिद तथा बिक्रिवितरण गर्न लगाउने पनि गरिरहेका हुन्छन् र बच्चाहरू पनि यस्ता कुराहरूलाई सामान्य झैँ ठान्छन् ।
अझ हाम्रो समुदायको धर्म संस्कृतिमा त बच्चाहरूलाई सानै छँदा देखि रक्सी पनि खुवाउने चलन छ । यस प्रकारका किृयाकलापले किशोर किशोरीहरूमा बच्चै देखि नकारात्मक सोचहरुको विकास भइरहेको हुन्छ र त्यसैको असरले पनि दुर्व्यसनीमा फस्न सक्दछ ।
साथै साथीभाइको देखासेकि वा उक्साहटमा लागि बिभिन्न पार्टीमा भेला भई सबैको र सजिलो पहुँचमा रहेका रक्सी र चुरोट जस्ता चिजबस्तुहरुको प्रयोग गर्नु र अभिभावकहरूले आफ्ना सन्तानहरू घरबाट जाने आउने समय र व्यवहारको बेवास्ता गर्नु । तर यी यस्ता कतिपय कुराहरू रहर वा बाध्यता बस परिवारबाटै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भई रहेका हुन्छ ।
यदि भविष्यमा आफ्ना सन्तानहरूलाई लागु औषध जस्तो दुर्व्यसनबाट जोगाउनु छ भने यस प्रकारका आफ्ना गल्तीहरू समयमै स्वीकार र महसुस गरी व्यवहारमा परिनत गर्न एकदमै जरुरी छ । आफ्ना सन्तानहरूमा अभिभावकहरूको सबैभन्दा शक्तिशाली प्रभाव हुन्छ । जीवनका लागि उपयोगी शिक्षा, असल संस्कार, आचरण र व्यवहार सिकाउनु अभिभावको प्रमुख कर्तव्य हो ।
आफ्ना सन्तानहरू प्रति मनोमानी गर्नु वा गर्न दिनु भन्दा मित्रवत् व्यवहार गरी तिनीहरूको इच्छा, चाहनाहरूलाई ध्यानमा राखेर उचित कदम चाल्नु एकदमै आवश्यक हुन्छ । परम्परागत मूल्य मान्यता र धर्म संस्कृतिको महत्त्व बुझाउन पनि उत्तिकै जरुरी छ । बिभिन्न स्वास्थ्य, मनोरञ्जनात्मक तथा खेलकुदका कार्यक्रमहरूमा सहभागी गराई त्यस प्रति प्रेरित गरी एक्लोपनको महसुस हुन गर्नबाट जोगाउनु पर्छ ।
साथै नशालु पदार्थको प्रयोग गर्नुको नकारात्मक असरको बारेमा जानकारी दिने, आफ्ना बालबच्चालाई आफ्नो निगरानीमा राख्ने गर्नुपर्दछ । व्यक्तित्व विकासमा सहयोग पुग्ने खालमा राम्रा र सकारात्मक प्रभाव पार्ने कार्यक्रम सुन्न र हेर्न प्रेरित गर्न सकिन्छ ।
आफ्ना सन्तानहरूले गरेका साना गल्तीमा नरिसाई वा कुनै पनि झर्को नमानी समाधानका उपायहरूको बारेमा सिकाई विकल्प र असल साथी बनाउन सहयोग गर्न सकिन्छ । सकभर आफ्नो साथमै राख्ने गर्नुपर्दछ ।