डेउडा सुदूरपश्चिमको संस्कृति र सभ्यता हो : प्रतीक

धनगढी: गायक तथा संगीतकार बिक्रम कुँवर ‘प्रतीक’ ले झुपडीका आवाज, पुर्चौंडी घुमौँला, मान्छे, मान्छे बिचको भेदभाव, काँछै मेरी मैना चणी, लिपुलेक हाम्रै हो, जाउँ है साथी लगायतका गीत तथा एल्बम ल्याएका छन् । पुर्चौंडी नगरपालिका ५, कुवाकोट, बैतडीमा जन्मिएका ३६ वर्षीय गायक प्रतीक दुई दशकभन्दा लामो समयदेखि राजनीति तथा सांस्कृतिक क्षेत्रमा क्रियाशील छन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष तथा नेकपा (माओवादी केन्द्र} सुदुरपश्चिम प्रदेश समिति सदस्यसमेत हुन् । नेपालमा ठुल–ठुला राजनीति आन्दोलन भए पनि त्यसको मर्म अनुसारको संस्कृति निर्माण हुन नसक्दा बारम्बार जनताले दुःख पाइरहेको बताउने प्रतीकले राजनीतिक नेतृत्वले यसमा सचेत हुनुपर्ने धारणा राख्छन् ।

नेपालको भौगोलिक, सांस्कृतिक, क्षेत्रीय, जातीय तथा बहुआयामलाई आत्मसात् गर्दै राज्य र राजनीतिक दलले विभेदरहित राज्यप्रणाली बनाउनु पर्नेमा जोड दिँदै उनले समाज रुपान्तरणका निम्ति सांस्कृतिक पक्षमा ध्यान दिनुपर्ने बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा रहेर राजनीति तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका जनवादी गायक प्रतीकसँग डेउडा संगीतका बारेमा गरिएको छोटो कुराकानीः

आधुनिकताको नाममा पश्चिमा संस्कृतिले नराम्रोसँग प्रभाव जमाएको देखिन्छ जसको कारण मौलिक संस्कृति र हाम्रा परम्परा बिस्तारै लोप हुनेतिर गइरहेको अवस्था छ । यसको मुख्य जिम्मेवारी त राज्यकै हो, तर राज्यलाई घचघच्याउने दायित्व हरेक तहका सांस्कृतिककर्मीको पनि हो?

_ डेउडा गीत संगीतको अवस्था कस्तो छ ?

– डेउडा गीत संगीतको अवस्था सामान्य नै रहेको छ, जुन स्तरमा देशभित्र र बाहिर यसको चर्चा र महत्व फैलिँदै जानुपर्ने हो खासै त्यो भने हुन सकिरहेको छैन ।

_ खासगरी सुदूरपश्चिम तथा कर्णालीको मौलिक पहिचानको रुपमा स्थापित डेउडा लगायतका अन्य गीत संगीतको संरक्षण, विकास तथा प्रवद्र्धनका निम्ति के कस्ता अभ्यास भइरहेका छन् ?

–यहाँले भन्नुभएझैँ डेउडा खासगरी सुदूरपश्चिम र कर्णालीको मौलिक पहिचान र संस्कृति हो । यसको जगेर्ना, संरक्षण र थप विकासमा सम्बन्धित निकाय लाग्न जरुरी छ । यसको निम्ति विभिन्न क्षेत्रबाट पहल र कोसिसहरु झिनो रूपमा मात्रै भइरहेका छन् । खासगरी यो क्षेत्रमा लागेका संघ–संस्था र कलाकारहरुको आफ्नो प्रयास र योगदान रहिआएको छ । कलाकारको आफ्नो निजी प्रयासले मात्रै विकास र संरक्षण प्रयाप्त छैन । त्यसकारण सरकारी स्तरबाटै योजनाबद्ध ढंगले यसको विकास र महत्वबारे आवश्यक पहल चाल्न आवश्यक छ ।

_विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समेत डेउडा लगायतका संस्कृतिका विषयलाई खासै समेटेको पाइँदैन’नि?

–हो, सही कुरो भन्नुभयो । डेउडा केवल गीत मात्रै होइन यो सुदूरको संस्कृति र सभ्यता हो । यसलाई सरकारले पाठ्यक्रममा समावेश गर्नुपर्ने हो । यसमा कसैको ध्यान गएको देखिँदैन । अब विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नका लागि स्थानीय र प्रदेश स्तरको सरकारले सुरुवात् गर्न जरुरी छ ।

_ केन्द्रिकृत सोचका कारण मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । यसको जिम्मेवारी कसले लिने ?

–आधुनिकताको नाममा पश्चिमा संस्कृतिले नराम्रोसँग प्रभाव जमाएको देखिन्छ जसको कारण मौलिक संस्कृति र हाम्रा परम्परा बिस्तारै लोप हुनेतिर गइरहेको अवस्था छ । यसको मुख्य जिम्मेवारी त राज्यकै हो, तर राज्यलाई घचघच्याउने दायित्व हरेक तहका सांस्कृतिककर्मीको पनि हो । जसको लागि हरेक क्षेत्रका सरकारले पहल चाल्न अति आवश्यक छ ।

_ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, स्थानीय, प्रदेश तथा संघीय सरकारले के कस्ता काम गर्नुपर्ला ?

–हाम्रो संस्कृति र मौलिकता जोगाउनलाई यहाँले माथि भन्नुभएका विभिन्न संघ–संस्था, प्रतिष्ठान र खासगरी तिनै तहको सरकारले बेला–बेलामा गोष्ठी, छलफल, भेला, अन्तक्र्रिया, प्रतियोगिता लगायतका विविध गतिविधिहरु गर्ने, सो क्षेत्रमा लागेका स्रष्टालाई सम्मान, पुरस्कार, सहयोग तथा प्रोत्साहन गर्नुपर्दछ ।

_यहाँ जनसांस्कृतिक महासंघ नेपालमा पनि आबद्ध हुनुहुन्छ, मौलिक संस्कृति जर्गेना गर्न राजनीतिक रुपमा के कस्ता कार्य गर्नुपर्ला ?

–राजनीतिक रुपमा पनि माथि भनेका कार्य गर्न हामीले तिनै तहको सरकारलाई आफ्ना कार्यक्रम र योजनासहित बेला–बेला खबरदारी गर्नुपर्ने देखिन्छ । ताकी तिनै तहको सरकारले यसलाई गम्भीरतापूर्वक लिँदै संरक्षण र जगेर्नाको लागि सकारात्मक भूमिका निर्वाह गरोस् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.