“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी” सम्भव छ!
धनगढी । महिला अधिकार, महिला सशक्तिकरण, महिला आत्मनिर्भर र महिला समानता जस्ता सवाल अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू बन्ने गरेका छन् । अन्तराष्ट्रिय महिला दिवस ८ मार्चमा विश्वव्यापी रुपमा मनाउँदै आएको छ । आज पनि “महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी ”भन्ने राष्ट्रिय नाराका साथ ११४ औं अन्तराष्ट्रिय नारी दिवस मनाउँदै छ । जुन महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरूलाई महत्वपूर्ण रुपमा अझै सशक्त बन्न प्रोत्साहन दिने छ ।
बर्षाैदेखि महिलालाई विभिन्न खालका भेदभाव गर्नेे गरिन्थ्यो । श्रम गरेबापत महिलालाई थोरै र असमान ज्याला, अधिकार र सुविधाबाट वञ्चित गरिने जस्ता व्यवहार गरिन्थ्यो । समाजले निर्धारण गरेका गलत नियम र कुसंस्कारको विरुद्ध महिला राष्ट्रव्यापी रुपमा बिरोधमा उत्रिन थालेका हुन् ।
नारी दिवसको इतिहास हेर्दा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तराष्ट्रिय महिला कपडा कामदारको आन्दोलन स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरीको अन्तिम आइतबारको दिन मनाइन थालियो ।
१९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलालाई मताअधिकार दिलाउनु थियो, किनकि त्यस समय महिलालाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन । १९१७ मा रसियाका महिलाहरूले महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे । नारी दिवस सर्वप्रथम १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो भने १९१० मा महिलालाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।
पछि ८ मार्चमा विश्वभर मनाइँदै आएको नारी दिवस मूलतः महिला सहभागीता , महिला हिंसा अन्तय सम्बन्धी दिवस हो । नारी दिवस राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण, महिलाको अत्मनिर्भरता र समानताका सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषय बनिरहँदा नेपालमा सयौं नारीहरू हिंसाको चपेटामा परेका छन् । कतिले बलत्कार भएर ज्यान गुमाउन पुगेको छ । कतिले छाउपडी प्रथाकै कारण ज्यान गुमाए । कति दाइजोका कारण हिंसा, यातना भोग्नु परेको छ ।
कतिको सानैमा घर परिवारले बाल विवाह गरिदिदाँ अहिले घरबार विहिन भए । कति घरेलु हिंसामा छन्, कतिपय समाजमा छोरी–बुहारी बन्धनमा बाँधिएका छन् । जसका कारण क्षमता भएर पनि केही गर्न सकेका छैनन् । त्यस्तो अवस्थामा परेका महिलालाई नारी दिवसले समेट्न सकोस् र समानतामा आउने सहयोग प्रदान होस् भन्ने उदेश्य राखिँदै आएको छ । युवा पुस्ताका धेरैले महसुस गर्न सकुन् कि सामाजिक विकृतिविरुद्धका अधिकांश लडाइँ महिलाले लड्न सक्छन् । अधिकाशं महिलाको साथ, अधिकारमा बढी समानता र जीवनको हरेक पक्षमा प्रभावकारी भूमिकाका खेल्न सक्छ ।
दुर्भाग्यपूर्ण केही कुरा पनि छन् कि महिलालाई अझै पनि उनीहरूको पुरुष समान बराबरी मान्यता वा अधिकार दिइएको छैन । अझै पनि पुरुष समान बराबरीको मान्यता महिलालाई छैन् । महिला अझै पनि व्यापार वा राजनीतिमा समान संख्यामा उपस्थित छैनन् र विश्वव्यापी रूपमा महिला शिक्षा, स्वास्थ्य र उनीहरूविरुद्ध हुने हिंसा कायमै छ । भन्छौ महिला पुरुष समान हुन , एक रथका दुई पाङ्गा हुन् । तर महिलाहरुलाई केही गर्न सक्दैन सोच्ने,हा यो महिला त हो के गर्लान र भन्ने ? महिलाहरुलाई पाईला पाईलामा विभेद गरिएको छ ।
यति सम्म कि एउटा समुहमा महिला र पुरुष बिच कुराकानि, छलफल भईरहदाँ महिलाले तत्थ सहित राम्रो तर्क दिदाँ पनि महिलालाई धर्म सस्कृति संग जोड्छन् ।त्यति खेरै भनिहालछन् , तिम्रा आमा बुवाले यहि हो सस्कार दिएको ? महिला भएर धैरे बोल्नु हुदैन, भन्ने थाहा छैन् ? खै हाम्रो आमाले त बहिनिलाई सिकाईनन् यस्ता कुरा ? कस्तो संस्कारै नभएकि केटी? अब भन्नू होस कि महिलाले बोल्न, तर्क राख्न पाउदैन र? खै महिलाको तर्कको सम्मान गरेको ? महिलाले बोल्दा संस्कारसंग जोडछन् ,नबोल्दा केहि बोल्न पनि सक्दिन रे? कस्ति गोजाङरि रे ? यो त केही गर्न सक्दिन रे? अब हामिले गर्ने के?
त्यहि ब्यक्ति कुनै कार्यक्रममा गएर भाषण गर्छ र भन्छ सबैलाई समान व्यवहार गर्नु पर्छ ? महिला पनि एक रथका दुई पाङ्गगा हुन् , महिला धर्ति हुन,महिला जननि हुन । अब भन्नू होस कि समान बोली नै छैन् त कसरी व्यवहार गर्लान् ? हामिले कसरी ती कुरामा विस्वास गर्ने? यो त एउटा उदाहरण मात्र हो । यस्ता कैयो उदाहरण छन् । हुन त महिला पुरुष समान हुन भन्छौ व्यवहार खै समान गरेको? विभिन्न खेलकुदको आयोजना हुन्छ । एउटै खेलमा पनि महिला पुरुषलाई दिने पुरस्कार राशिमा आकास पाताको फरक हुन्छ ।
यति भन्दा विस्वास लाग्दैन होला । नपत्याय हेर्नु त ईतिहास । कहि देख्नु भयो ? महिला पुरुषमा समान पुरस्कार राशि । यो प्रकारको विभेद नेपालमा मात्र होईन , अन्तराष्ट्रिय स्तरमै छ । समानताका कुरा गर्नेले यसको अन्तय गर्नु पर्दैन ? नेपालको संविधान२०७२को भाग ३को धारा १८ मा समानताको हक अनुसार न. (४)मा समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन। लिङ्गको आधारमा कसैमाथि भेदभाव गरिनेछैन भन्ने व्यवस्था गरिएको छ । खै त यो कुरा लागु भएको ? तर पहिलाको भन्दा केही सुधार भएको छैन त भन्न मिल्दैन् ।
अवसर पायो भने महिलाले काम गर्न सक्छन् र परिवार पाल्न पनि सक्दछन् । महिलाहरू वास्तविक मैदानमा आएर भिड्न पनि सक्छन् । यसैको उदारण हो आजको युगमा आइपुग्दा महिला अन्तरिक्षमा ३२८ दिन बिताउने सफल यात्री बनेको पनि । महिला राष्ट्रपति, प्रधानमन्त्री, पाइलट, रेसलर, इन्जिनियर,प्रमुख जिल्ला अधिकारी आदि बन्न सफल भैसकेका छन् । यसैले प्रत्येक वर्ष यो दिवसले विश्वभरका महिलालाई प्रेरणा दिन्छ,साहस दिन्छ, र आफ्नो उपलब्धिहरू मनाउँछ ।
समानताको लागि संघर्षको कथा कुनै एकल नारीवादी वा कुनै एक संस्थाको छैन तर मानव अधिकारको ख्याल गर्ने सबैको सामूहिक प्रयासको हो । त्यसैले अन्तर्राष्ट्रिय महिला दिवसलाई आफ्नो महत्त्वपूर्ण दिन र महिलाहरूको लागि सकारात्मक बाटो प्रदान गर्ने महत्त्वपूर्ण दिन पनि मान्न सकिन्छ । धेरै ग्लोबल कर्पोरेसनहरूले अन्तर्राष्ट्रिय महिला दिवसलाई सक्रियताका साथ आफ्ना कार्यक्रम र अभियानहरू चलाएर समर्थन गर्ने गर्दछन् । यसैगरी हाम्रो समाजमा पनि महिलाहरूमा हरेक कुरामा जागरुकता जगाउन, तिनलाई अघि बढाउन या हरेक कुरामा मनोवल बढ्ने खालको सोच जगाउन सकारात्मक सोचका साथ देशव्यापी रूपमा नारी दिवस मनाउन जरुरी छ ।
महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नारामा मात्रै सिमति नहोस् केही गर्न खोज्नेलाई मद्दत गरियोस् । नारीले नारी भएकै कारण कोठामा मात्रै सिमित हुन नपरोस्। एउटा नारीको लागि हरेक दिन नारी दिवस बनोस । प्रत्यक क्षणमा स्वतन्त्रताको अनुभुति होस। प्रत्येक नारीले आफ्नो छुट्टै पहिचान निर्माण गर्न सकुन् किन भने आत्मसम्मानको जरुरि छ ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण नारीहरुमा हार्दिक शुभकामना ।।
लेखक यमुना साउद, उनी एक्टिभ एफ.एमकी संवाददाता हुन् ।