कुष्ठरोग पुर्व जन्मको पाप नभई ब्याक्टेरियाबाट लाग्ने रोग हो : जनस्वास्थ्य निर्देशक शाही
धनगढी, १३ माघ । सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीको सङख्या बढदै गएकोे छ। ८८ पालिका रहेको यो प्रदेशको ४५ पालिकामा अझै पनि कुष्ठरोगी रहेका छन् । सक्रिय कुष्ठरोगीबाट स्वासप्रस्वासको माध्यमबाट यो रोग अरुमा सर्ने गर्दछ । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो। कुष्ठरोग पुर्व जन्मको पाप नभई ब्याक्टेरियाबाट लाग्ने रोग भएको स्वास्थ्य कार्यालय धनगढीका जनस्वास्थ्य निर्देशक तेज विक्रम शाहीले बताए ।
कम सर्ने रोग भएका कारणले सक्रिय कुष्ठरोगीको सम्पर्कमा रहेको लामो समयपछि मात्रै व्यक्तिलाई यो रोग लाग्न सक्ने सम्भावना रहने गरेको बताएको छ। समाजभित्र अझै पनि कुष्ठरोगी लुकेर रहेकाले तिनको खोजतलास गर्न र कुष्ठरोगलाई शून्यमा झार्न सबैको सहयोग आवश्यक रहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारबाट स्वास्थ्य प्रवद्र्धन, प्रतिकारात्मक, पुनस्र्थापना गर्ने लगायतको कार्य भइरहेको बताए । कुष्ठरोगीलाई अझै पनि हेला गर्ने, नराम्रो सोचले हेर्ने परिपाटी कायम रहेकाले जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको डा. जोशीको भनाइ थियो। ८८ पालिका रहेको सुदूरपश्चिममा ५० भन्दा र २० भन्दा बढी बिरामी एक/एक पालिकामा रहेका छन्। यस्तै, ११ देखि २० बिरामी दुई पालिकामा, पाँचदेखि १० बिरामी आठ पालिकामा, एकदेखि चार बिरामी ३३ पालिकामा रहेका छन्।
४३ पालिकामा भने कुष्ठरोगको शून्य रहेको जनाइएको छ। आर्थिक वर्ष २०७९/८० मा मात्रै यो प्रदेशमा २३० जना कुष्ठरोगी फेला परेका छन। जसमध्ये तीन जनामा रोग बल्झिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ। कुष्ठरोग लागेकामध्ये १४ जना बालबालिका रहेका छन्। निर्देशनालयका अनुसार कैलालीमा १४९, कञ्चनपुरमा ४३, अछाममा २२, बझाङमा ५, बैतडीमा चार जना नयाँ कुष्ठरोगी फेला परेका हुन। यस्तै, डोटीमा तीन, दार्चुलामा दुई, बाजुरा र डडेल्धुरामा एक÷एक जना कुष्ठरोगी फेला परेका छन्।
गतआर्थिक वर्षमा कुष्ठरोगका कारण २२ जना बिरामीमा अपाङ्गता समस्या भएको जनाइएको छ। नयाँ बिरामी सबैभन्दा बढी ८७ जना धनगढी उपमहानगरपालिकामा फेला परेका जनाइएको छ। यसैगरी, कैलारी गाउँपालिकामा २२ र भीमदत्त नगरपालिकामा १९ जना नयाँ बिरामी भेटिएका छन्।
कुष्ठरोग लागेका व्यक्तिले समयमै उपचार गराएमा यो रोग पूर्ण रुपमा निको हुने गरेको निर्देशनालयका प्रमुख मनोज ओझाले बताए । सुदूरपश्चिमबाट कुष्ठरोग निवारणका लागि राज्य र सरोकारवाला निकायबाट सक्रिय बिरामीको खोजतलास गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन, अपाङ्गता रोकथाम, पुनस्र्थापनाको कार्यक्रम अगाडि बढाउने लगायतको कार्यक्रम भइरहेको बताईएको छ।