आजबाट मजगाउँ होमस्टेमा माघि महोत्सव सुरु
धनगढी,१२ माघ । कैलालीको गोदावरी नगरपालिका – ८ मजगाउँमा आजदेखि माघि महोत्सव हुने भएको छ । प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले महोत्सवका समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
माघ १४ गते सम्म सञ्चालन हुने महोत्सवको नारा संस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने राखिएको छ । थारु कल्याणकारी सभाका नगर अध्यक्ष जनकलाल चौधरीले महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताए ।
महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायत १५ बढी स्टल रहने छ । महोत्सवमा २६ गाउँका थारू नाच प्रस्तुत हुने छ ।
पाँच लाख अनुमानित लगानीमा हुन लागेको महोत्सवमा हजारौले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवलाई सफल बनाउन अध्यक्ष जनकलालको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ ।