सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
धनगढी,११ माघ । सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको छ। गैरआवासीय नेपाली सङ्घले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंको सहकार्यमा अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । बिरामी हुने धेरैलाई श्वासप्रश्वासको समस्या अधिक हुने र त्यहीं समस्याको समाधानका लागि अक्सिजन प्लान्टलाई प्राथमिकता राखेको बताउँदै , कुनै पनि बिरामीले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने समस्यालाई कम गर्न अक्सिजन प्लान्ट निर्माण गरिएको गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले बताए।
कोरोना महामारीको बेला धेरैले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको बताए । अब सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनि अक्सिजन प्लान्ट नै निर्माण गरिएको सङ्घका अध्यक्ष केसीको भनाई छ। सेती प्रादेशिक अस्पतालमा अब अक्सिजन नपाएर बिरामीले ज्यान गुमाएको खबर सुन्न पाइने छैन। अक्सिजनको बिरुवा नै रोपेर गैर आवासीय नेपाली सङ्घले गरेको यो सहयोग एकदमै ठुलो रहेको सेती प्रादेशिक अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष नर बहादुर शाहाले बताए।
अक्सिजन प्लान्ट १ करोड २० लाखको लागतमा निर्माण भएको हो । जस बाट अब प्रति घण्टा ८ वटा अक्सिजन सिलिन्डर भर्न सकिने भएको छ। अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रमको प्रमुख आतिथ्यता सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर साउदले गर्ने भएको थियो।