चुरे गाउँपालिकाद्धारा १७ जना एचआईभि संक्रमितलाई भत्ता वितरण
धनगढी,९ माघ । कैलालीको चुरे गाउँपालिकाले एचआईभि संक्रमितहरुलाई भत्ता वितरण गरेको छ । पालिकाले १७ जना एचआईभि संक्रमितहरुलाई ६ महिना बराबरको भत्ता वितरण गरेको हो । चालु आर्थिक वर्षको कार्यक्रम अनुसार मासिक एक हजारका दरले १७ जना एचआईभि संक्रमितहरुलाई ६ महिनाको एकमुष्ट रकम बैंक मार्फत वितरण गरेको चुरे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्टले जानकारी दिए ।
उनले पालिकामा रहेका २७ जना एचआईभि संक्रमितहरुका लागि बजेट विनियोजन गरिएपनि बाँकीले भने बैंक खाता नखोलेको र सम्पर्कमा नआएकाले दिन बाँकी रहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षको पुष मसान्त सम्मको हुन आउने प्रतिव्यक्ति ६ हजार बराबरको रकम पालिकाले एचआईभि संक्रमितको खातामा पठाईसकेको छ । चालु आर्थिक वर्षको वाकि ६ महिनाको रकम भने असार मसान्तमा भुक्तानी हुने उनको भनाई छ ।