नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक सम्पन्न
असार १८ धनगढी,। शनिबार धनगढीमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको संसदीय दलको बसेको बैठक सम्पन्न भएको छ। केन्द्रीय गठबन्धनमा सुदूरपश्चिम सरकारको नेतृत्व परिवर्तन गर्ने छलफल चलिरहेको बेला सरकारको नेतृत्व गरिरहेको माओवादीले संसदीय दलको बैठक गरेको हो।
बैठकले सरकारको नेतृत्व परिवर्तन गर्ने बारे आइरहेका चर्चा र केन्द्रीय गठबन्धनको चासोबारे सामान्य छलफल मात्र गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिईन् । उक्त बैठकमा माओवादीबाट थुप्रै योग्य सांसदहरु मन्त्री बन्न छुटेको विषयमा पनि छलफल भएको उनले बताइन्। बैठकमा आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटबारे पनि छलफल भएको थियो। उनले बजेटमा भएका त्रुटीहरु संसोधन गरेर संसद् चलाउने वातावरण मिलाउन पहल गर्ने बैठकले निर्णय गरेको बताइन् ।
सुदूरपश्चिममा अहिले माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। उनलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषय अहिले चर्चामा आएको छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरिरहेको छ। अहिले सुदूरपश्चिम प्रदेश सभामा पनि समाजवादी सबैभन्दा ठूलो दल रहेको छ। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा सत्ता पक्षकै सांसदहरु रुष्ट भएका छन्। सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले असार १ गते आगामी आर्थिक वर्ष २०७९/०८० बजेट प्रस्तुत गरेका थिए। बजेट संसदमा प्रस्तुत भएसँगै यसमाथि छलफल अगाडि बढाएर पारित गर्नुपर्ने हुन्छ।
बजेट प्रस्तुत भएको दुई साता बढी बितिसक्दा पनि छलफलको टुंगो लागेको छैन। सरकारले मनपरी ढंगले बजेटमा योजना समावेश गरिएको भन्दै मन्त्रीदेखि सत्तारुढ दलका सांसद तथा प्रतिपक्षी सांसद रुष्ट बनेका छन् । बजेटप्रतिको असन्तुष्टिका कारण प्रदेश सभा बैठक अनिश्चित बनेको छ ।